राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको घुइँचो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरूको घुइँचो बढेको छ । कार्यालयमा बिहानै ५ बजेदेखि नै सेवाग्राहीहरू पुग्ने गरेका छन् । दैनिक ६० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजेदेखि नै लाइनमा बस्ने गरेको सेवाग्राहीहरूको भनाइ छ ।

जिल्लामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । तर, कार्यालयले भने हाल दैनिक ६० जनालाई मात्रै सेवा दिन सकेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।

सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकाले सेवाग्राही बढेको प्रजिअ वैद्यले बताउनुभयो । राष्ट्रिय पत्र सेवा प्रवाहका लागि हाल एउटा मात्रै डेस्क रहेकाले पहिला नाम दर्ता गर्ने र पालोअनुसार बोलाउने गरेको प्रजिअ वैद्यको भनाइ छ । सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहलाई सहज बनाउन जनशक्ति र आवश्यक उपकरण माग गरेको प्रजिअ वैद्यले बताउनुभयो । मागअनुसार मन्त्रालयबाट पनि थप जनशक्ति र उपकरण उपलब्ध गराउने निर्णय भइसकेकाले केही दिनमै अस्थायी व्यवस्थापन गरी साउन महिनासँगै दुईवटा स्टेसनबाट सेवा प्रवाह सुरु गरिने प्रजिअ वैद्यले बताउनुभयो ।

गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्नेगरी तयारी भइरहेको प्रशासनले जनाएको छ । सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबैखाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरणको अभियान सुरु गरेको हो ।

सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पु¥याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?