गाउँ नै पहिरोको जोखिममा, रित्तिए बस्ती

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण बागलुङका थुप्रै बस्तीहरू रित्तिँदै गएका छन् । त्यसमध्ये जिल्लाको जैमिनी नगरपालिका–१ टुनीबोट पनि अहिले सुनसान छ । केही वर्षअगाडिसम्म निकै चहलपहल हुने टुनीबोट गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । दुई वर्षअगाडिसम्म ४६ घर रहेको टुनीबोटमा हाल ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् ।

विसं २०७७ सालमा आएको पहिरोले दुईजनाको मृत्यु र आठ घर पुरिएका थिए । त्यसपछि गाउँ जोखिममा परेको भन्दै स्थानीयहरूले बस्ती नै छोड्न थालेका छन् । अहिले त्यस गाउँमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । पहिरोले त्रासका बीच पनि आफूहरू गाउँमै बस्न बाध्य रहेको स्थानीय राजु पौडेलले बताउनुभयो । ठूलो धनजनको क्षति पु¥याएपछि स्थानीय आफ्नो जायजेथा छोडेर बसाइँसराइ गर्न बाध्य भएको उहाँको भनाइ छ ।

‘पहिले गाउँमा धेरै घरहरू थिए, मान्छेहरू पनि धेरै नै बस्ने गर्थे, दुई वर्षअगाडि पहिरो आएपछि दुईजनाको मृत्यु भयो, धेरैको धनसम्पत्तिको नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ,’ पौडेलले भन्नुभयो, ‘गाउँमा कोही जागिरे, कोही व्यवसायीहरू थिए, उनीहरू सबै छोडेर बसाइँसराइ गरेर अन्तै जान बाध्य भए, अहिले गाउँमा बसाइँसराइ गरेर जान नसक्ने परिवारमात्रै छन्, उनीहरू पनि जोखिम मोलेर गाउँमा बस्न बाध्य छन् ।’

बस्तीमाथिबाट बिनाइन्जिनियरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयको भनाइ छ । सडक निर्माण गर्दा प्राविधिक जाँच पास गरेर निर्माण गरेको भए बस्ती जोखिममा नपर्ने उनीहरूको भनाइ छ । गाउँमा अहिले गरिबहरूमात्रै रहेका छन् ।

टुनीबोटलगायत बागलुङका विभिन्न ठाउँहरूबाट विस्थापित हुने र बसाइँ सरी पोखरा, काठमाडौं, चितवन जानेहरूको संख्या ठूलो छ । खास गरी बाढीपहिरोको जोखिमसँगै नयाँ अवसरको खोजी गर्दै पुख्र्यौली बस्ती छोड्नेहरूको संख्या ठूलो छ ।

पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, व्यवसायको राम्रो अवसर नहुँदा पनि मानिसहरूले गाउँ छोड्न बाध्य भइरहेको अवस्थामा गाउँ नै जोखिममा परेपछि बसाइँसराइ गर्नु स्वाभाविक नै हो । जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुनले जोखिममा रहेको बस्ती संरक्षण गरी बसाइँसराइ हुनबाट स्थानीयलाई रोक्न प्रयास थाल्ने बताउनुभयो । उहाँले पछिल्लो समय बसाइँसराइ जटिल विषय भएको भन्दै यसको रोकथामका लागि छलफल भइरहेको बताउनुभयो । अन्यत्रभन्दा राम्रो अवसरको सिर्जना गर्न सके मात्र बसाइँसराइ रोकिने पुनको भनाइ छ ।

विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पुँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइ रोक्नुपर्ने स्थानीयको माग छ । बसाइँसराइले गाउँका संस्कार, संस्कृतिसमेत धरापमा पर्ने अवस्थामा पुगेका छन् । प्राकृतिक विपत्तिबाट समस्यामा परेका नागरिकको पुनस्र्थापना गर्न सके गाउँ छोडेर बसाइँसराइ गर्नुपर्ने अवस्था नआउने स्थानीय बताउँछन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?