३८ जना स्वास्थ्यकर्मी एकैसाथ बाहिरिए : अस्पतालको सेवा अस्तव्यस्त

हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरूको एकैसाथ करार अवधि सकिएपछि अस्पतालबाट बिदा लिएका छन् । चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मीहरू एकैसाथ बाहिरिँदा बेनी अस्पतालको सेवा पनि अस्तव्यस्त बनेको छ । अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो ।

५० बेड क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार म्याद सकिएर बाहिरिएपछि साउन १ गतेबाट सेवा प्रभावित बनेको छ । कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृसंस्था निक साइमन्ड इन्सिच्युट (एनएसआई) ले पठाएका चार स्वास्थ्यकर्मीको अवधि एकैसाथ सकिँदा अस्पतालको सेवा प्रभावित भएको हो ।

ठूलो संख्यामा करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त हुँदा नियमित सेवा प्रवाह प्रभावित भएको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३१ गते पत्र पठाएर करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त भएको जानकारी दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी हुने गरी कार्यरत विभिन्न पदका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३८ जनाको करार म्याद सकिएको अस्पतालले जनाएको छ ।

म्याद सकिने स्वास्थ्यकर्मीहरूमा हेल्थ असिस्टेन्ट तीन, अहेब दुई, स्टाफ नर्स १२, फार्मेसी सहायक दुई, अनमी दुई, ल्याब टेक्निसियन दुई र कार्यालय सहयोगी पाँचजनाको म्याद समाप्त भई साउन १ गतेबाट सेवाबाट बाहिरिएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो । डा. कँडेलका अनुसार स्वास्थ्यकर्मीको अभावमा बेनी अस्पतालको सर्जिकल सेवा बन्द गरिएको छ । अस्पतालमा आठ कन्सल्टेन्ट डाक्टर र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मीमात्रै छन् । डा. कँडेल अस्पतालका एक्ला मेडिकल अधिकृत हुनुहुन्छ । अस्पतालमा ४० जना स्वास्थ्यकर्मी अपुग रहेको डा. कँडेलले बताउनुभयो ।

यसैगरी अस्पतालको स्वीकृत दरबन्दीमा करारतर्फबाट कार्यरत अनमी दुईजना, स्टाफ नर्स एकजना, ल्याब असिस्टेन्ट एकजना, हेल्थ असिस्टेन्ट दुईजना, ल्याब टेक्निसियन एकजना र अस्पतालमा एनएसआईका तर्फबाट कार्यरत मेडिकल अधिकृत एकजना, स्टाफ नर्सएक जना र एनेस्थेसिया असिस्टेन्ट एकजनाको करार म्याद समाप्त भई सेवाबाट बाहिरिएका छन् । एनएसआईका तर्फबाट कार्यरत मेडिकल अधिकृत बाहिरिँदा अप्रेसन सेवा केही दिनका लागि रोकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

५० बेडमा स्तरोन्नति गरिएको भनिएको अस्पताल व्यावहारिकरूपमा अस्तव्यस्त छ । कागजीरूपमा ५० बेडको भनिए पनि २० बेड क्षमताको अस्पतालभन्दा कम पूर्वाधार र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेको सेवाग्राहीहरूको गुनासो छ । अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गरिने सम्पूर्ण उपचार सेवा बन्द भएको छ । ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू सेवाबाट बाहिरिँदा सेवा प्रवाहमा असर परेको डा. कँडेलको भनाइ छ । चाँडो जनशक्ति व्यवस्थापन मिलाइदिन गण्डकी प्रदेश सरकारसँग माग गरिएको उहाँले बताउनुभयो । एकसाथ धेरै स्वास्थ्यकर्मी बाहिरिँदा र नयाँ स्वास्थ्यकर्मी पनि तत्कालन नआउँदा अस्पतालको ल्याबसेवा, ओपिडी, इन्डोर, इमर्जेन्सीसमेतका स्वास्थ्य सेवा प्रभावित बनेको बेनी अस्पतालले जनाएको छ । अस्पतालको ओपिडी सेवामा दैनिकरूपमा दुई सयदेखि तीन सयजनासम्मले सेवा लिने गरेकोमा अहिले एक सयजना बिरामीलाई मात्र सेवा दिन सकिएको अस्पताल व्यवस्थापन समितिका सदस्य बेलबहादुर कटुवालले बताउनुभयो ।

अस्पतालमा  बालरोग, हाडजोर्नी, रेडियोलोजी, स्त्रीरोग, शल्यक्रिया, एनेस्थेसियासहित सातवटा वार्ड र सोहीअनुसार प्रत्येक वार्डमा एकजना विशेषज्ञ डाक्टरसहित एकजना मेडिकल डाक्टर र चारजना नर्सले सेवा दिनुपर्ने हुन्छ । तर, अहिले अस्पतालमा विशेषज्ञ डाक्टरको त परको कुरा आठजना स्टाफ नर्समध्ये जम्मा पाँचजना मात्र कार्यरत छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?