गल्फर राईलाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । भारतको व्यावसायिक गल्फ टुर, प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटीआई) मा सहभागिता जनाउन लागेका नेपालका नम्बर १ प्रो गल्फर शुक्रबहादुर राईलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेका छन् ।

प्रतियोगिताका लागि शुक्रलाई विभिन्न १३ व्यक्ति एवं संस्थाका तर्फबाट संकलित आठ लाख रुपैयाँसमेत हस्तान्तरण गरिएको छ । शुक्रले आगामी एक वर्ष पिजिटिआई खेल्न र एक महिना बेंग्लोरस्थित तरुण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्नुहुनेछ । उक्त प्रशिक्षणको शुल्कमा लाग्ने खर्च विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका हुन् । ‘यो कदमले मलाई पिजिटिआईमा निकै सहयोग पुग्नेछ ।

आफ्नातर्फबाट सक्दो राम्रो प्रयास गर्नेछु । सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु,’ शुक्रले सहयोग ग्रहण गरेपछि भन्नुभयो ।
शुक्रले २० जुलाईदेखि १४ अगस्टसम्म एक महिना बेंग्लोरमा प्रशिक्षण लिनुहुनेछ । त्यसपछि उहाँ लगातार पिजिटिआईको प्रतियोगितामा व्यस्त रहनुहुनेछ ।

पिजिटिआईअन्तर्गत शुक्रले अगस्ट १७ देखि डिसेम्बर १८ सम्म १६ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनुहुनेछ । यी प्रतियोगिताको पुरस्कार राशि ४० लाख भारतीय रुपैयाँदेखि तीन करोड भारतीय रुपैयाँसम्म राखिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?