सरकारको एक वर्ष : के भए खेलकुदमा उपलब्धि ?

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । राष्ट्रको पहिचान मानिने खेल क्षेत्र र गहना मानिने खेलाडीका लागि गएको वर्ष उत्साहमूलक नै बन्यो । कोरोना महामारीले थिलथिलिएको नेपालको खेल क्षेत्रले खासगरी वर्तमान सरकार गठनपछिको एक वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विशिष्ट पहिचान बनाउन सकेको छ ।

यस अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरका १२ र राष्ट्रियस्तरका ८२ प्रतियोगिताको आयोजना गरी उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । नेपालले विभिन्न ३५ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासमेत जनाएको थियो । सरकारको एकवर्षे अवधिभित्र नेपालको राष्ट्रिय खेल भलिबलमा महिला टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्‍यो ।

बंगलादेशमा सञ्चालित एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोली अब्बल खेल प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो । बंगलादेशको मिरपुरमा भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नगद पुरस्कारको घोषणा गर्नुभएको थियो । सरकारले राष्ट्रिय महिला भलिबल टोलीका १२ खेलाडीलाई जनही पाँच लाख प्रदान गर्दा टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादवलाई जनही तीन लाख प्रदान गरेको थियो ।

गत वर्ष फुटबल खेलले पनि नयाँ छलाङ मार्‍यो । दक्षिण एसियाली खेलकुद (साफ) च्याम्पियनसिप फुटबलको करिब २८ वर्षे इतिहासमा नेपालले नयाँ इतिहास रच्यो । माल्दिभ्समा भएको उक्त प्रतियोगितामा बंगलादेशसँग एक/एक गोलको बराबरी खेल्दै साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा पुगेर आमनेपाली फुटबल प्रेमीलाई खुसी प्रदान गर्‍यो ।

नेपाली फुटबल इतिहासमा नेपाली खेलाडीले गरेको ऐतिहासिक प्रदर्शन निकै महत्वपूर्ण क्षण रहेको थियो । त्यतिबेला नेपाललाई फाइनल पुग्न जित या बराबरीको आवश्यकता थियो र नेपालले बराबरी खेल्यो । मालेको राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा भारतसँग ३-० गोलअन्तरले पराजित भएपछि नेपाल इतिहास रच्नबाट वञ्चित हुँदै दोस्रो स्थानमा रहृयो ।

फुटबल खेलमा नेपाली टोलीले उल्लेखनीय प्रदर्शन गरेको भन्दै युवा तथा खेलकुदमन्त्री गहतराजको पहलमा सहभागी टोलीलाई सरकारले सम्मानसमेत गर्‍यो । प्रधानमन्त्री शेरबाहदुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचय बनाउन सफल बनेको खेलाडीले गरेको मिहिनेतको कदर गर्दै सम्मान गर्नुभएको थियो ।

सम्मानस्वरूप राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीले जनही पाँच लाख प्राप्त गर्दा प्रशिक्षकले तीन लाख पाउनुभएको थियो । एक वर्षको अवधिमा नेपालले खेलेको विभिन्न अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामध्ये तेक्वान्दोमा चार स्वर्ण, तीन रजत र पाँच कास्य पदक हात पा¥यो । यसैगरी कराँते खेलमा चार स्वर्ण र दुई कास्य पदक हासिल गर्‍यो ।

एथ्लेटिक्समा भने एक रजत र बक्सिङमा तीन कास्य पदक प्राप्त ग¥यो । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने १९४ खेलाडीलाई मासिक जनही ६ हजारका दरले भत्ता दियो । यसैगरी प्रथम ओलम्पियन पाँचजनालाई मासिक १० हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गर्नुका साथै ओलम्पिकमा सहभागिता जनाउने ५७ खेलाडीलाई समेत मासिक चार हजारका दरले सम्मान तथा प्रोत्साहन भत्ता वितरण गर्‍यो ।

सरकारको यस एकवर्षे कार्यकालमा मूलपानी क्रिकेट एकेडेमी आयोजनाको ३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । भैरहवा क्रिकेट मैदानको प्याराफिटको भित्री पार्टेसन गारो र प्लास्टर गर्ने कार्य भइरहेको र इलेक्ट्रिक वायरिङको कार्य चालु छ । उक्त आयोजनाको हालसम्म करिब २१ प्रतिशत काम भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता विदुर ढकालले सरकारको एकवर्षे कार्यकालमा प्रतियोगिताभन्दा पनि खेल पूर्वाधार निर्माणमा विशेष केन्द्रित भएको बताउनुभयो ।

उहाँका अनुसार धनगढी रंगशालाको प्याराफिटको ब्लक निर्माण कार्य ४२ दशमलब ७५ प्रतिशत सम्पन्न भएको छ । पोखरा रंगशालाको बाटो, बाँकी इन्टरलकिङ ब्लक हाल्ने र प्रि-इन्जिनियरिङ भवनको टाइल फिनिसिङ कार्य जारी छ । पोखरा आयोजनाको पनि ८० प्रतिशत काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसैगरी नेपालगञ्ज रंगशाला निर्माणको ७५ प्रतिशत काम सकिएको छ । रंगशालामा सिन्थेटिक ट्र्याक निर्माणका लागि लागत स्रोत सुनिश्चित भएकाले लागत इस्टिमेट तयारी भई ठेक्का आहृवान गरिएकामा कुनै पनि बोलपत्रदाता क्वालिफाइड नभएकाले तत्कालका लागि ठेक्का रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा रहेको निर्माणाधीन कभर्डहलको २० दशमलब ७५ प्रतिशत कार्य सम्पन्न भएको छ । कभर्डहल निर्माणको पहिलो तलाको स्लाब ढलान सम्पन्न भएको छ । सिमरा रंंगशाला आयोजनाको करिब ६ प्रतिशत कार्य सम्पन्न भएको छ । सुर्खेत रंगशाला आयोजनाको काम ३ दशमलब ५ प्रतिशत सकिएको छ । सुर्खेत रंगशालामा हाल ग्रिल क्याव्रिकेसन गरी जडानका लागि साइटमा पोस्ट ठड्याउने कार्य भइरहेको छ ।

पाँचथरको फिदिममा अवस्थित रंगलाशालाको रिटेनिङ स्ट्रक्चरको फाउन्डेसन कार्य सम्पन भई कुल आयोजनाको १३ दशमलब २५ प्रतिशत काम सम्पन्न भएको छ । हाल पाँचथरको मल्टिप्रपोज तीन ब्लकको सियर वाल तीन मिटर ढलान सम्पन्न भएको छ । मनाङको तिमाङमा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि ग्राउन्डको तारबार तथा रिटेनिङ वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । विभिन्न ठाउँमा खेलकुद पूर्वाधार निर्माणमा करिब ४२५ जनाले रोजगारीसमेत प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खेल विश्वविद्यालयको स्थापनाको सम्भाव्यताका विषयमा अध्ययन गरिरहेको जनाएको छ । एक वर्षमा मन्त्रालयले खेलकुदका ४५ राष्ट्रियस्तरका संघसंस्थाको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन ग¥यो । राष्ट्रिय खेलकुद नियमावली, २०७८ को मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरिरहेको छ । ३२० खेलकर्मीलाई खेलकुदमा प्रतिबन्धित औषधि सेवनविरुद्धको सचेतना प्रदान गरिएको छ । मन्त्रालयले स्थानीयस्तरमा एक लाख ४४ हजार ५०० र राष्ट्रियस्तरमा ११ हजार ६०० खेलाडीलाई निरन्तर खेलकुद प्रशिक्षण गराइरहेको छ ।

एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता १९औँ एसियाली खेलकुद (एसियाड) का लागि २३० पुरुष र २४५ महिला गरी कुल ५१४ खेलाडीको प्रारम्भिक चरणको छनोट कार्य सम्पन्न गरेको छ । चीनको होङझोउमा आयोजना हुने भनिएको उक्त प्रतियोगितामा नेपालले २३ खेलमा सहभागिता जनाउने पक्का भए तापनि प्रतियोगिता कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चीनले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना गर्नेे भनिएको उक्त प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । ठूलो समूहमा जमघट हुने भएकाले आयोजक चीनले कोरोना महामारी बढ्न सक्ने भन्दै प्रतियोगिता स्थगित गरिएको जनाएको थियो ।

एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउनेछ । महिला फुटबल, महिला भलिबल, तेक्वान्दो, कराँते, टेबलटेनिस, ब्याडमिन्टन, जुडो, फेन्सिङ, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, गल्फ, कुस्ती, भारत्तोलन, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, महिला हृयान्डबल, पुरुष क्रिकेट, गल्फ र सुटिङमा नेपालले सहभागिता जनाउनेछ । नेपालको महिला फुटबल टोली र महिला भलिबल टोलीले पहिलोपटक एसियाली खेलकुदमा सहभागिता जनाउने भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री गहतराजले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेर फर्केपछि नेपाली महिला टोलीलाई एसियाली खेलमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महिला टोलीले एसियाली खेलमा सहभागिताको अवसर प्राप्त गर्न सफल भए ।
यसैगरी एसियन गेम्समा नेपाली पुरुष क्रिकेट टोलीले करिब आठ वर्षपछि सहभागिताको मौका पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?