काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलोपटक हुन लागेको नेपाल टी-ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । जसका तीन टोलीमा विदेशी लगानी रहेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका ६ मध्ये चार टोली सार्वजनिक भएका हुन् ।
प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँरबाहेक बाँकी सार्वजनिक तीन टोलीमा विदेशी लगानी रहेको छ । लुम्बिनीको सञ्चालकमा सञ्जय शर्मा रहनुभएको छ । अमेरिकामा अवस्थित नेपालीहरूको अल स्टार्स टोलीले लुम्बिनी क्लबको स्वामित्व लिएको हो ।
यस्तै भारतको गोल्ड स्पोर्ट्स प्रालिले जनकपुरको प्रतिनिधित्व गर्नेछ । यस्तै विराटनगर सुपर किंग्सलाई भारतको डायमन्ड डिजी क्यापले खरिद गरेको छ । विराटनगरको मालिकमा विक्रम यादव र जनकपुरका गौरीशंकर धामनी रहनुभएको छ । टी-२० लिग गभर्निङ बढीका संयोजक तथा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपालबाट लगानी नपाएको भन्दा पनि टी-२० लिगको फ्रेन्चाइज टिममा विदेशी व्यवस्थापन हुनु सामान्य र सर्वव्यापी अभ्यास रहेको बताउनुभयो ।
‘इन्डियन प्रिमियर लिग (आइपिएल) छाडेर संसारको हरेक फ्रेन्चाइज लिग हेर्ने हो भने टिमको स्वामित्व धेरै विदेशी टोलीले लिएका छन् । संसारको हरेक फ्रेन्चाइजमा विदेशी मालिक हुने व्यवस्था सामान्य हो । जसले उचित प्रस्ताव ल्याउँछ र जसलाई हामीले विश्वास गर्छौंँ त्यही टिमले मान्यता पाउने हो,’ मल्लले भन्नुभयो, ‘श्रीलंकन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगका टिमहरूमा विदेशी लगानीका टिम छन्, हामीले फ्रेन्चाइज टोली नपाएकाले विदेशी लगानी लिएको हिसाबमा यसलाई बुझ्न मिल्दैन ।’
बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले समेत मान्यता दिइसकेको छ । क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ ।
प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउन्ड रोबिनका आधारमा हुनेछ । प्रतियोगितामा ‘ए’ ग्रेडमा रहेका खेलाडीले १५ लाख, ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ न्यूनतम पाउनेछन् ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी-२० लिगको रणनीतिक र कमर्सियल साझेदारीका रूपमा रहनेछ । क्यानले नेपाल टी-२० आयोजना गर्न थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि ३३ करोडको रुपैयाँमा बेचेको छ । तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । ‘दुईजना टिम मालिक उपस्थित हुन नसकेकाले छिटोभन्दा छिटो उपस्थित गर्नेछ । आइसिसीले ६ वटै टिमको नाम पठाएपछि स्वीकृत भएको हो,’ चन्दले भन्नुभयो, ‘हामीले सम्पूर्ण तयारी सुरु गरिसकेका छौँ । सबैबाट सकारात्मक साथ, सहयोगको अपेक्षा राखेका छौँ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका