‘मेरो भ्वाइस र डान्स युनिभर्स’को घोषणा

Read Time = 4 mins

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा दुईवटा रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागितामा यो शो आयोजना गरिनेछ । ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फष्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फष्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै नाफा कमाउनु छैन । विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सधैँ सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउण्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्ट महिनादेखि सुरु हुने अडिशन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिशन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिशन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १-१ स्थानमा अडिशन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिशन हुने बताइएको छ ।

फ्रेबुवरी २८ तारिखसम्म फिल अडिशन सकेर साइटलेस अडिशनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउण्डेशनका अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाली गीतसंगीतलाई फराकिलो स्थान दिन यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । यो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मानित गरियो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायक भुवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, कार्यक्रम होस्ट सुशील नेपाल, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मानित गरियो । यस्तै, कार्यक्रममा कुमार कार्की, दुर्गाप्रसाद पाण्डे, ज्ञानेन्द्रराज देवकोटा र माधव खरेललाई पनि सम्मानित गरियो ।

कार्यक्रममा कलाकार किरण केसीले गीत गाएर सुनाउनुभएको थियो । यस्तै, गायक पुष्पन प्रधान, शिव परियारले पनि गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गर्नुभयो । कार्यक्रममा नेपाली वीरहरूको वीरता झल्कने डान्ससमेत प्रस्तुत गरिएको थियो । इन्ट्रा फाउण्डेशनले अहिले ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए’ आयोजना गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?