कोरोना फैलिँदै, सचेतता शून्य

हिमालय टाइम्स
Read Time = 5 mins

कोरोना फेरि पनि भयावह रूपमा फैलिइरहेको छ । तर, यसबारे जनतामा सचेतता शून्य छ । जनतामा सचेतता नभएको मात्र होइन सरकारले पनि जनतालाई सचेत गराउने खालका कुनै सन्देश हालसम्म प्रवाह गरेको पाइएको छैन । कोरोना संसारमा पछिल्लो समयमा फैलिएको सबैभन्दा भयावह महामारी हो । एकताका संसारमा प्लेग, बिफर जस्ता महामारी फैलिएका थिए र ती महामारीबाट धेरै मानिसको ज्यान गएको थियो । हाल ती रोगहरू उन्मूलन भएका छन् तर विज्ञहरूको रायमा कुनै महामारी एकपटक देखापरेपछि जति नै त्यसलाई उन्मूलन गरियो भने पनि त्यो उन्मूलन भएको हुँदैन नियन्त्रणमात्र भएको हुन्छ ।

अठारौँ शताब्दीमा फैलिएर उन्मूलन भयो भनिएको प्लेग पुनः एक्काइसौँ शताब्दीमा केही ठाउँमा फाट्टफुट्ट देखिएको थियो । अहिले फेरि अष्ट्रेलियामा प्लेगका लक्षणहरू देखापरेको भनेर सतर्कता अपनाउन थालिएको छ । त्यसरी हेर्दा यस्ता ठूला खालका महामारीहरू निर्मूल भए भनिए तापनि ती खरानीमुनि छोपिएको आगो जसरी रहिरहन्छन् भन्ने देखिन आउँछ । त्यतिमात्र होइन सोच्दै नसोचेको र कल्पनै नगरेको महामारी पनि एकाएक देखिन सक्छन् । कोरोना यस्तै एउटा महामारी हो जो चीनमा अचानक देखिन आयो र संसारव्यापी बन्यो । सावधानी अपनाएको र लापरबाही गरेको आधारमा कतै यसले बढी नै क्षति पु¥यायो भने कतै कम । विभिन्न लहरमा आएको अनेकथरि भेरियन्टले हाम्रो देशमा पनि निकै नै क्षति पुर्‍यायो ।

यसको भौतिक क्षतिको त लेखाजोखा नै गर्न सकिँदैन यसका साथै ठूलो मानवीय क्षतिसमेत पुर्‍यायो । यसविरुद्ध खोपको आविष्कार भएपछि पनि हाम्रोमा आइपुग्न केही समय लाग्यो । पहिलो र दोस्रो मात्रा खोप लगाइसकेपछि भने जनजीवन आश्वस्त बनेको छ तर कोरोना संक्रमण कम भएपछि त्यताबाट सबैको ध्यान हट्न पुग्यो । खोप लगाएकाहरू त्यसै ढुक्क हुने नै भए लगाउन नपाएकाहरू पनि त्यतातिरबाट आफ्नै दैनिकीतिर मोडिन पुगे । कतिपयले अझै खोप लगाउन पाएका छैनन् । मान्छे संक्रमित हुने र मर्ने गरेका दैनिक समाचार आउन छाडेपछि मानिसको त्यतातिर ध्यान जाने कुरा भएन । पेसा, व्यवसाय गरेर जीविका गर्नेतिरै ध्यान जानु स्वाभाविक हो ।

सरकारले गत चैत मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने भनेको थियो तर यसको संक्रमण शून्य जस्तै भएपछि सरकारले त्यसतर्फ ध्यान दिन छोड्यो । पुनः यसको संक्रमण फैलिन थालेको छ र पछिल्लो समयमा एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि हुन पुगेको छ । निश्चय यो सामान्य अवस्था होइन । जाँच नगरेकाहरूमा पनि संक्रमण होला, नहुने कुरै छैन । जाँच गरिएकामध्ये यति धेरै जनामा संक्रमण पाइनुले हामीलाई फेरि झस्काएको छ । विगत वर्षको सम्झना गराएको छ । यो दर दश प्रतिशतको भनिएको छ । कुरो के रहृयो भने यो दर बढ्दै गयो भने पुनः पहिलेकै संख्यामा पुग्न धेरै समय नै लाग्ने छैन ।

भय कम गराउने एउटा आधार ‘खोप लाएको छु’ भन्ने मनोविज्ञान हो । तर, खोप नलगाएकालाई संक्रमण भए तिनीहरूको संरक्षण गर्न पहिलेजत्तिकै चुनौती हुने कुरा निर्विवाद हो । अब त मानिसले मास्क लगाउन र सेनिटाइजर प्रगोग गर्न पनि छोडिसकेका छन् । हात मिलाउने प्रवृत्ति पनि व्यापक बन्दै गएको छ । यस अवस्थामा कोरोनाको फैलिँदो संक्रमणलाई ध्यान दिएर यस्ता सावधानीका उपायको अवलम्बन गर्नु जरुरी छ । एकजनाको लापरबाहीले गर्दा धेरैजना प्रभावित बन्न सक्ने सम्भावनालाई कसैले नकार्नु हुँदैन । सबैले लापरबाही गरियो भने खतरा सबैलाई हो भन्ने सोच्नु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?