भारतबाट आउने १० प्रतिशतमा कोरोना संक्रमण, छैन आइसोलेसनको व्यवस्था

Read Time = 5 mins

धनगढी । भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ ।

धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिललो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफण्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उहाँले बताउनु भयो ।

‘एक साता पहिलासम्म कोरोना संक्रमण देखिने क्रम त्यति थिएन्,’ साउदले भन्नुभयो, तर पछिल्लो पाँच दिनयता भारतबाट आउने मध्ये स्वास्थ्य परीक्षण गरिएका ८ देखि १० प्रतिशत नागरिकमा कोरोनाको संक्रमण देखिन थालेको छ, यो क्रम अझै बढ्ने देखिएको छ ।’

भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको असर नेपालमा देखिने गरेको उहाँले बताउनु भयो । ‘भारतमा कोरोनाको जोखिम बढेपछि नेपालीहरू स्वदेश फिर्ता हुने गरेका देखिन्छन्,’ उहाँले भन्नुभयो, ‘स्वदेश फर्कने मध्ये केही उतै संक्रमित भएर आउनले गरेका छन् ।’

सीमा नाकामा कोरोना संक्रमण पुष्टि हुने नागरिकको संख्या बढ्न थालेपछि उनीहरूलाई व्यवस्थापन गर्ने व्यवस्था भने नरहेको उहाँले बताउनु भयो । धनगढी उपमहानगरपालिकास्थित बेली आइसोलेसन सेन्टरमा कोरोना संक्रमित राख्ने गरिएकोमा संक्रमणको जोखिम नरहेको भन्दै अहिले सो आइसोलेसन सेन्टर बन्द गरिएको छ । जसका कारण सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका नागरिकलाई पनि घर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य बिटका इन्चार्ज साउदले बताउनु भयो ।

‘रोगको परिक्षण गरिएपछि पोजेटिभ देखिएका नागरिकलाई अरुको सम्पर्कमा जान नदिन आइसोलेसनको व्यवस्था हुनुपर्ने हो,’ साउदले भन्नुभयो, ‘तर अहिले संक्रमितको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन, जसका कारण कोरोना संक्रमितलाई सिँधै घर पठाउनु पर्ने बाध्यता रहेको छ ।’

भारतबाट आउने नागरिकमा कोरोना संक्रमण दर बढेको बारे स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेश सरकार र रोग निवारण महाशाखा काठमाडौंलाई जानकारी गराइने गरेको उहाँले बताउनु भयो । ‘हामीले संक्रमणको अवस्थाका बारेमा सबै निकायलाई रिपोर्ट दिने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘तर उनीहरूको व्यवस्थापनका लागि भने कसैले पनि चासो दिएको पाइदैन, यसले फेरि समाजका कारोना संक्रण फैलाउने त्रास बढेको छ ।’

गौरीफण्टा स्वास्थ्य बिटमा अहिले कोरोना परीक्षणसँगै टिबी, एचआइभी, डेङ्गू, मलेरिया, स्क्रफटाइफस र कालाजारको समेत परीक्षण हुने गरेको छ । तर, भारतबाट आउने सबै नागरिकलाई स्वास्थ्य परीक्षण केन्द्रसम्म पुर्याउन भने समस्या रहेको स्वास्थ्य बिटका इन्चार्ज साउद बताउउनु हुन्छ । ‘सीमामा रहेका सुरक्षाकर्मीले सबै नागरिकलाई स्वास्थ्य बिट भएको स्थानमा आउने व्यवस्था गरेर सहयोग गर्नुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘तर कतिपय सुरक्षाकर्मीलाई समेत छलेर स्वास्थ्य परीक्षणविनै भित्रिने गरेका छन्, यसका लागि जनशक्ति थप्नु पर्ने देखिन्छ ।’
-मोहन जोशी/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?