सडक र पुल निर्माणमा सडक डिभिजन विराटनगरको महत्वपूर्ण उपलब्धि

हिमालय टाइम्स
Read Time = 4 mins

-निर्मल ढुंगाना

विराटनगर । सडक डिभिजन कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा सडक निर्माण र पुल निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कार्यालयले पाएको लक्ष्यको तुलनामा ८० प्रतिशतभन्दा बढीले उपलब्धि हासिल गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा एक अर्व २३ करोड रुपैयाँ बजेट पाएकोमा विषम् परिस्थितिका बावजुत ९७ करोड रुपैयाँ खर्चेर विकास निर्माणतर्फ महŒवपूर्ण उपलब्धि हासिल गरेको हो । कार्यालयले समग्र विकास बजेटबाट ८० प्रतिशतभन्दा बढीले विकास निर्माणको काम सम्पन्न गरेको जनाएको छ ।

कार्यालयले मावाखोलादेखि इटहरीसम्मको चारवटा ठूलो पुलको निर्माण सम्पन्न गरेको छ भने करिब १० वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुदर्शन कार्कीले जानकारी दिनुभयो । बाँकी रहेको पुलको सवस्टक्चर र कोभर स्टेक्चरको निर्माण कार्य जारी रहेको कार्कीको भनाइ छ । कार्यालयले मोरङ र सुनसरीका ३४ वटा पुलको मर्मत संहार र निर्माण कार्यको अख्तियारी पाएको थियो । जसमध्ये चारवटा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

१० वटा पुलको काम अन्तिम चरणमा छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नयाँ पुलको निर्माण र पुरानो पुलको मर्मत संहारतर्फ ३२ करोड खर्च गरेको छ । कार्यालयले मावा खोलादेखि इटहरीसम्म ३५ किलोमिटरसम्मको राजमार्ग र सहायक मार्गमा रहेका ११ वटा जीर्ण पुलको मर्मत गरेको छ । यसबाहेक कार्यालयले राजमार्ग र सहायक राजमार्ग गरेर करिब ३० किमि सडकलाई कालोपत्र गरेको छ ।

गत आर्थिक वर्षमा जेठदेखि भीषण पानी परेको, निर्माण सामग्रीको मूल्यवृद्धि भएको, ठेकेदारले निर्माण सामग्रीको मूल्यवृद्धिका कारण निर्माण कार्य बन्द गरेको र अर्थ मन्त्रालयले बजेट रकमान्तरमा ढिलाइ गरेकाले सोचेअनुसार काम गर्न नसकिएको प्रमुख कार्कीले बताउनुभयो । कार्यालयले पहाडी क्षेत्रका सडकमा छोएका भिरालो जमिनलाई भूक्षयबाट रोक्न आफैँले विरुवा उत्पादन गरेर वृक्षारोपण गर्दै आएको छ । धरानको बेसक्याम्पमा आफ्नै नर्सरीमार्फत विरुवा उत्पादनको काम सुरु गरेको छ ।

सडक मार्गलाई २४सै घण्टा चलायमान बनाउन र बाढी पहिरोको बेला भूक्षयबाट सडकलाई जोगाउन सडक छेउछाउमा वृक्षरोपण सुरु गरेको प्रमुख कार्कीले बताउनुभयो । सडकको छेउका भिरालो पाखामा वृक्षरोपण गर्ने सडक डिभिजन विराटनगर पहिलो भएको कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?