रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

हिमालय टाइम्स
Read Time = 4 mins

 मुगु । रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधैँ तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात् फूलको भूमिका पनि कम छैन ।

रारालाई सुन्दर बनाउने यी फूल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फूलहरू पछिल्लो समय विस्तारैविस्तारै देखिन छाडेका छन् । यसरी फूलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो कि भनेर पर्यटकहरूले चिन्ता गर्न थालेका छन् । विभिन्न रंगीविरंगी फूलले फूलबारी जस्तै बन्ने रारा परिसर दोस्रो तेस्रोपटक रारा पुग्नेहरूले अचेल केही कमी भएको अनुभव गर्न थालेका छन् ।

रारा राष्ट्रिय निकुञ्जअन्तर्गत राराताल वरिपरि फूल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप हुँदै गएका छन् । निकुञ्जले पाँच वर्ष अगाडि गरेको अध्ययनअनुसार रारा ताल आसपासमा एक सय ६५ किसिमका वन्यजन्तु, तीन सय दुई प्रजातिका चरा र एक सय ६३ प्रजातिका फूल पाइन्थे । तर, अहिले रातो र सेतो गुराँस, भदुरी, चमौली, बुकी, डोइली, म्याकुरो, कटुकी, अत्तिसलगायत फूल देखिँदैनन् । यस्तै, च्याखुरा, तित्रा, कालिज, ढुकुर, कोइलीलगायत चरा र घोरल, झारल, बँदेल, चितुवा, भालु, मृग, रतुवालगायत वन्यजन्तुहरू देखिनै छाडेका छन् ।

निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडालगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभावी छोड्दा फूलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ । अव्यवस्थित चरिचरन र मानवीय क्रियाकलापले फूलहरू नष्ट भइरहेको जानकारहरू बताउँछन् ।

फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड देखिन थालेको छ । पछिल्लो समय मानवीय क्रियाकलाप पनि बढ्दै गएको, पशु चौपाया, गाई, भँैसी, घोडा लगायतले वनस्पतिमा ठूलो असर पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रि विनोद दाहालले बताउनुभयो । रारामा पर्यटक बोक्ने घोडाहरूले गर्दा पनि जैविक विविधतामा ठूलो असर परिरहेको छ । गतवर्ष निकुञ्जमा ५० हेक्टर क्षेत्रमा आगलागी भएको थियो भने यो वर्ष दुई हेक्टरमा आगलागी भएको सल्लेरी पोष्टका कमल बुढाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?