मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५-४ गोलअन्तरले हरायो । उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन ।

मञ्चका तर्पmबाट वासु अवाले र दिल तामाङले समान दुई गोल गर्नुभयो । अभिनव जोशीको नाममा एक गोल रहृयो । अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गर्नुभयो । निराजन श्रेष्ठ र नरेश खड्काले १/१ गोल थप्नुभयो । उक्त मैत्रीपूर्ण खेलको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले उद्घाटन गर्नुभएको थियो ।

विजेता मञ्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले विदेशमा बसेर नेपालीले हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रशंसा गर्नुभयो ।

अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफूहरू सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत् आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गर्नुभएको थियो । सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबका कप्तान सन्तोष खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?