फोर ए साइड भलिबल साउन तेस्रो साता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. विनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोट्र्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ ।

प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको सेटमा खेलिसकेका १२ जनामध्येबाट एकजनामात्रै समावेश गर्न पाइनेछ । वर्षाका कारण प्रतियोगिता नभइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

एक टोलीमा पाँच खेलाडी र एक प्रशिक्षक रहनेछन् । प्रतियोगितामा सहभागिताका लागि चार हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ । विजेताले ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ, कप मेडल र प्रमणपत्र हात पार्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले दुई हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर र प्रशिक्षकले जनही एक हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।

गोरखा जिल्ला गोरखा नगरपालिका-१२ का स्थायीवासी, भलिबलप्रेमी तथा भलिबल खेलाडीलाई अत्यन्तै माया गर्ने विनयको गत वर्षको २६ असोजमा घान्द्रुक घुम्न जानेक्रममा दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा उहाँसहित आठजनाको मृत्यु भएको थियो । उहाँ सारांगे छहारी भलिबल प्रतियोगिताको सदस्य रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?