दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । दक्षिण अफ्रिकासँगको पहिलो ओडिआई खेलमा इंग्ल्यान्ड ६२ रनले पराजित भएको छ । जितका लागि ३३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४६.५ ओभरमा २७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि जो रुटले ७७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८६ रन जोड्नुभयो । ओपनर जेसन रोय र जोनी बेयरस्टोले १९ ओभरमा १०२ रनको शतकीय साझेदारी गरे पनि त्यसलाई इंग्ल्यान्डले कायम राख्न सकेन । रोय ६२ बलमा ३ चौका र १ छक्कासहित ४३ रनमा आउट हुनुभयो । जोनी बेयरस्टो ७१ बलमा ७ चौकासहित ६३ रनमा रोकिनुभयो ।

अन्तिम खेल खेल्नुभएका बेन स्टोक्स ५, जस बटलर १२, लियम लिभिङस्टोन १०, साम करन १८ र मोईन अली ३ रनमा आउट हुनुभएको थियो । दक्षिण अफ्रिकाका तीव्रगतिका बलर एनरिच नोर्कियाले सर्वाधिक चार तथा तबरेज शाम्सी र एडेन माक्ररमले दुई-दुई विकेट लिनुभयो । त्यसअघि चेस्टर ली स्ट्रिटमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डुसेनले ११७ बलमा १० चौकासहित १३३ रनको शतकीय इनिङ्स खेल्नुभयो ।

त्यसबाहेक क्विन्टन डि ककले १९, डेबिड मलानले ७७ बलमा ५ चौकासहित ५७ रन जोड्नुभयो । तेस्रो विकेटका लागि एडेन माक्ररम र डुसेनले १२२ बलमा १५१ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका ठूलो स्कोरतर्फ अघि बढेको थियो । माक्ररम ६१ बलमा ९ चौकासहित ७७ रनमा आउट हुनुभयो । डेविड मिलर १४ बलमा ४ चौकासहित २४ रनमा अविजित रहनुभयो । हेनरिक क्लासेन १२ रनमा आउट हुनुभयो । इंग्ल्यान्डका लियम लिभिङस्टोनले दुई तथा साम करन, बायडन कार्स र मोईन अलीले एक-एक विकेट लिनुभयो ।

योसँगै तीन ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । दोस्रो खेल म्यानचेस्टरमा शुक्रबार हुनेछ । ३१ वर्षीय बेन स्टोक्सले यस खेलसँगै ओडिआईबाट सन्न्यास लिनुभएको छ । उहाँले इंग्ल्यान्डको टेस्टको कप्तान रहँदा टी-२० क्रिकेटलाई भने निरन्तरता दिनुहुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?