सिमेन्टपछि छड भारत निर्यात सुरु

Read Time = 4 mins

रूपन्देही । रूपन्देहीबाट सिमेन्टपछि श्री स्टिलले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । श्री स्टिलले पहिलो खेपमा एक ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगञ्जको कुनसेरवामा निर्यात गरेको हो । आगामी दिनमा उताको मागअनुसार निरन्तरताका साथै निर्यात बढाउने उद्देश्य रहेको कम्पनीका सञ्चालक राजेश अग्रवालले बताउनुभएको छ । उहाँले बजेटमा आएकोे निर्यात नीतिअनुसार निर्यात सुरु गरिएको बताउनुभयो । कहिले लोडसेडिङ, कहिले विद्युत् ट्रिपिङ समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामनापछि अन्य देश निर्यातको शुभारम्भ गरेको अग्रवालको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रूपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो । यस अवसरमा स्टिल्समात्रै नभई रूपन्देहीलगायत देशकै उद्योगका उत्पादन निर्यात गर्ने वातावरण बनाउन हामी विभिन्न तहका सरकारका साथै सरोकारवालासँग आग्रह गर्दछौं ।’ निर्यातले नेपाल र भारतबीचको व्यापारघाटा केही हदसम्म कम गर्ने पनि उहाँले बताउनुभयो । वार्षिक १५ लाख मेट्रिक टन छड निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको उहाँले जानकारी गराउनुभयो । केडिया अर्गनाइजेसन, सिद्धार्थ र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित उद्योगले श्री स्टिल्स टिएमटी छड उत्पादन गर्दै आएको कम्पनीका ब्रान्ड म्यानेजर दिपक शाहले बताउनुभयो ।

कम्पनीले नेपालमै पहिलोपटक भूकम्प र अग्नि प्रतिरोधी जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जनाएको छ । प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय टन स्टिल बिलेट उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरयुक्त स्टिल उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड भएको कम्पनीको दाबी छ ।

तीन अर्ब लगानी रहेको रोहिणी गाउँपालिका-३ स्थित श्री स्टिल्स प्रालिमा पाँच सयजनाले प्रत्यक्ष रोजगार पाएका छन् । कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोहिणी गाउँपालिका–३ का वडाध्यक्ष वीरबहादुर क्षेत्री, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवाल, भारतका आयातकर्ता मनोज अग्रवाललगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?