न्यायाधीश अधिकारीमाथि आर्थिक स्वार्थ र लेनदेनको आरोप, छानबिनका लागि सर्वोच्चमा तानिए

हिमालय टाइम्स
Read Time = 2 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई आर्थिक स्वार्थ र लेनदेनको आरोप लागेको छ । उहाँलाई विभिन्न अदालतमा हुँदा पदीय आचरणविरुद्ध आर्थिक स्वार्थ र लेनदेनको आरोप लागेको हो । न्यायपरिषद्ले अधिकारीविरुद्ध उजुरी परेपछि छानबिनका लागि सर्वोच्च अदालतमा तानेको छ । केही गम्भीर उजुरीका कारण अधिकारी सर्वोच्च अदालत तानिनुभएको हो ।
अधिकारीमाथि आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोप लागेकोे न्यायपरिषद्ले जनाएको छ ।

न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भन्दै उहाँलाई सर्वोच्च अदालतले समेत टिप्पणी गरेको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उहाँमाथि ‘यान्त्रिक रूपमा पक्राउ अनुमति दिएको’ आरोप लागेको थियो । यस विषयमा २०७८ असोज २८ मा सर्वोच्चले प्रश्न उठाएको थियो ।

सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप अधिकारीमाथि छ । उहाँको खातामा शंकास्पद रूपमा आठ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । उहाँ बाँके आउनुभन्दा अघि जिल्ला अदालत कालिकोटमा कार्यरत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?