प्रचण्डको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन सांसदको माग

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे विभिन्न टीका-टिप्पणी भइरहेका छन् । कतिपयले अध्यक्ष दाहालको भारत भ्रमण स्वाभाविक भनेका छन्, भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायत कतिपयले भ्रमण अस्वाभाविक भएको टिप्पणी गरेका छन् । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालको भारत भ्रमणको विषय सदनमा समेत आवाज उठेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । अध्यक्ष दाहाल भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा पनि भारतमै रहेको र त्यहीबेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै नेमकिपा सांसद सुवालले भारत भ्रमणबारे जानकारी गराउन माग गर्दै भन्नुभयो, ‘सरकारी अधिकारीहरू र नेताहरू जति जति भारत भ्रमणमा जान्छन् त्यति त्यति भारतीय पक्षले नेपालको भूमिमा अतिक्रमण बढाएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भारत भ्रमण भयो । प्रधानमन्त्री पत्नी नेका नेतृ आरजू राणा पनि उतै हुनुहुन्छ ।

यही बेला नेपाली भूमिमाथि भारत सरकारले मिच्ने काम पनि बढाएको छ । यसबारे माओवादी अध्यक्षज्यूलाई संसद्मा बोल्न दिनु जरुरी छ ।’
माओवादी केन्द्रका अध्यक्ष दाहालले गत शुक्रबारदेखि आइतबारसम्म तीनदिने भारत भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा अध्यक्ष दाहालले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमणलाई विपक्षी दल नेकपा एमालेले भने निर्वाचनको पूर्व-तयारीका बेला सत्ता साँठगाँठसँग जोडिएको आशंका गरेको छ । दाहालको भ्रमणका क्रममा आगामी निर्वाचनमा गठबन्धन गर्नेदेखि त्यसपछि सरकार गठन गर्नेसम्मका विषयमा भारतमै छलफल गरिएको चर्चासमेत रहेको छ ।

संघीय संसद्का दुवै सदनमा एम अधिकारीको खोजी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ विभागको सदस्य रहेको विषय सडकदेखि सदनसम्म चर्चा भइरहेको छ । अर्थ विभागमा एम अधिकारी नाम गरेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको कतिपयको जिकिर छ । तर, स्वयं गभर्नर अधिकारी र नेकपा एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नभएको जिकिर गर्दै आएका छन् । एउटा अमुक पार्टीको विभागको सदस्य राष्ट्र बैंकको गभर्नर बन्न नमिल्ने भन्दै सडकदेखि सदनसम्म विरोध भइरहेको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पनि सांसदहरूले एम अधिकारीको खोजी गरेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ विभागका सदस्य एम अधिकारीको खोजी गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महतले सरकार र प्रतिपक्ष कसैले पनि हराएका एम अधिकारी खोज्न पहल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसद महतले भन्नुभयो, ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्थ्यो हाम्रो गाउँतिर । अब यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रीय सदस्य हराउनुभएको छ ।

उहाँको खोजी न अहिले सरकार गर्छ, न प्रतिपक्ष गर्छ, मैले अनौठो मानिरहेको छु । अब सरकारले खोजीका लागि विद्यार्थीको जिम्मा लगाएको छ । प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सिसी क्यामेरा खोज्दै हिँडेको छ । सिसी क्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ तर त्यत्रो एउटा महत्वपूर्ण मान्छे हराएको छ त्यो मान्छे खोज्ने अहिलेसम्म कुनै समिति नै बनेको छैन । अब म कसलाई भन्नु ?’

राष्ट्रियसभामा पनि सांसदहरूले एम अधिकारीको खोजी गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले एमालेको अर्थ विभागमा रहेका एम अधिकारीको खोजी गर्नुभएको हो । सांसद आलेमगरले अहिले एम अधिकारी र खोटाङ एकदमै चर्चाको विषय र सबैको घरघरको कहानी भएको भन्दै ती व्यक्तिलाई चिनाउन एमाले सांसदलाई आग्रह गर्नुभयो ।

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको दाबी गर्दै सांसद आलेमगरले एउटै व्यक्ति कुनै पार्टीको अर्थ विभागको सदस्य र गर्भनर हुन नसक्ने जिकिर गर्दै भन्नुभयो, ‘एमालेमा कुनै मान्छे लाग्न पाउँछ कि पाउँदैन ? बिल्कुल पाउँछ । कुनै व्यक्ति गभर्नर हुन पाउँछ कि पाउँदैन ? योग्यता र क्षमताका आधारमा हुन पाउँछ । तर, एउटै व्यक्ति दुवैतिर हुन पाउँदैन । त्यसैले यो व्यक्ति को हो भन्ने हामी जान्न चाहन्छौँ । नेपाली जनता जान्न चाहन्छन् । एमालेका साथीहरूले स्पष्ट पारिदिनुभयो भने राम्रो हुने थियो ।’

ज्येष्ठ नागरिक विधेयक पारित
प्रतिनिधिसभाले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक,२०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पति भएको सो विधेयक लामो समयपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको हो । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले उनीहरूलाई राज्यका तर्फबाट संस्थागत रूपमा सहयोग उपलब्ध गराउने प्रयास गरिएको बताउनुभयो । ज्येष्ठ नागरिक घरमै बस्ने वातावरण बनाउनका लागि सरकारले प्रयास गरेको बताउँदै मन्त्री रेग्मीले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई मुलुकको विकास र समृद्धिका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

इञ्जिनियर बन्न लाइसेन्स अनिवार्य
नेपाल इञ्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट पारित भएको छ । पारित विधेयकमा मुख्यतः इञ्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । विधेयकअनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै इञ्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै नेपाल इञ्जिनियरिङ परिषद्बाट लाइसेन्स पाउनेछन् । लाइसेन्स पाएपछि मात्र इञ्जिनियरले पेसा गर्न पाउनेछन् ।

२०७६ जेठ २९ गते दर्ता भएको यो विधेयक राष्ट्रियसभाबाट १४ पुस २०७६ मा पारित भएर फेरि प्रतिनिधिसभामा आएको थियो । राष्ट्रियसभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो । संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतः निरूपण हुने दाबी गर्नुभयो । विधेयकले इञ्जिनियरिङ परिषद्लाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने, अनलाइनमार्फत सेवा प्रदान गर्न सक्ने लगायतका सुविधा पनि दिएको मन्त्री राईले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?