अमेरिकालाई पत्र पठाउन अलमल, प्रधानमन्त्री देउवाको भ्रमण पनि अनिश्चित

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिना पुग्नै लाग्दासमेत पत्राचार गर्न सकेको छैन । एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउने निर्णय गरेको सरकारले एक महिनासम्म पनि पत्र पठाउन नसकेको हो । गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्वीकार गर्ने निर्णय गरेको थियो । एसपिपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउनेसमेत सरकारको निर्णय थियो ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा अमेरिकालाई पत्र पठाइसकिएको झुटो दाबी गर्नुभएको थियो । तर, गृहमन्त्रकिो जवाफपछि परराष्ट्र मन्त्रालयले एसपिपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको थियो । सरकारले एकमहिना अघिको आफ्नै निर्णय कार्यान्वयन गर्न सकेको छैन । सरकारले निर्णय गरेको एकमहिना पुग्न लाग्दासम्म पनि अमेरिकालाई पत्र नपठाइएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

एसपिपीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे पनि चर्चा भएको थियो । एसपिपी अघि नबढाउने निर्णयसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसमेत अन्योलमा परेको छ । सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताअघि एसपिपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गर्नुभएको थियो । यद्यपि, परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमण रद्द नभएको जनाएको छ ।

पत्राचारबारे अध्ययन भइरहेको छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले अमेरिकासँगको स्टेट पार्टरनसीप प्रोग्राम (एसपिपी) अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्ने अझै अध्ययन भइरहेको जनाएको छ । एसपिपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरू देखिएपछि त्यसबारे अध्ययन भइरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । ‘एसपिपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ,’ बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भन्नुभयो, ‘विपद् व्यवस्थापनलगायत के केमा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे केही सुनिश्चित नभएको उहाँको भनाइ छ । ‘परराष्ट्रमा एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुवै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ,’ उहाँले भन्नुभयो, ‘दुवै पक्षलाई अनुकूल नभई मिति घोषणा गर्ने कुरा आउँदैन ।’

एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई किन नपठाएको ? : राई
राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले एसपिपी अस्वीकार गरेको पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गर्नुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा उहाँले एसपिपीमा भाग नलिने निर्णय अमेरिकालाई पत्र अहिलेसम्म नपठाएको भन्दै प्रश्न गर्नुभयो । ‘अहिलको अवस्थामा प्रधानमन्त्री रक्षा र अर्थ मन्त्री पनि हो । एसपिपी जसरी आयो त्यसरी सेलायो,’ उहाँले भन्नुभयो, ‘सरकारले एसपिपीमा जाँदैनौँ भनेर निर्णय गरेको छ । तर, पत्र लेखेको छैन । पत्र कहिले लेखिन्छ ? किन ढिला भएको प्रश्न सोध्न मन छ ।’

एसपिपीबारे रुलिङको माग गर्दै सांसद भीम रावलद्वारा ‘रोष्ट्रम कब्जा’
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपिपी सम्झौता अस्वीकार गर्ने पत्र पठाउन सरकारलाई ‘रुलिङ’को माग गर्दै रोष्ट्रम ‘कब्जा’ गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एसपिपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम कब्जा गर्नुभएको हो । उहाँले रोष्ट्रम नछोडेपछि केहीबेर संसद् बैठक नै अवरुद्ध भएको थियो । बैठकमा सभामुखको अध्यक्षता गर्नुभएकी सत्या पहाडीले रावलको मागबारे पटक-पटक ध्यानाकर्षण भएको भन्दै बस्न अनुरोध गर्दा पनि उहाँले रोष्ट्रम छोड्नुभएको थिएन । रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राख्नुभएको थियो । सो क्रममा केही सांसदहरूले नियमापत्तिसमेत गरेका थिए । त्यसलगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको र विषयान्तर नगर्न आग्रह गर्नुभयो । तर, रावलले रोष्ट्रम नछोडेपछि संसद् बैठक १५ मिनेट स्थगित भएको थियो । १५ मिनेट स्थगित भएर पुनः सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रूपमा अघि बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?