गठबन्धनका विभिन्न मोडेल

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

वास्तवमा हरेक राजनीतिक दल स्वतन्त्र विचार र विधान लिएर स्थापना गरिएका हुन्छन् । प्रत्येक दललाई निर्वाचनमा कति जना उम्मेदवार उठाउने, उम्मेदवार कसलाई बनाउने र निर्वाचनका बेला चुनावी एजेन्डा के के बनाउने भन्ने जस्ता कुराहरूमा स्वतन्त्रता हुन्छ । सबै राजनीतिक दल आफ्ना पार्टीका बारेमा निर्णय गर्नका लागि स्वतन्त्र हुन्छन् तर केही यतादेखि चलेको गठबन्धनको लहरले भने दलहरूका स्वतन्त्रता खोसिँदै गएको पाइन्छ । एउटा दलको निर्णय अर्को दलको निर्णयसँग सम्बन्धित रहेर गर्ने परम्पराको थालनी भएको पाइन्छ ।

पछिल्लो समयको दृष्टान्त हेर्दा विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने त्यही सालको प्रदेश र संघका निर्वाचनमा नेकपा एमाले र नेकपा माओवाद केन्द्रले गठबन्धन गरेका थिए । केही महानगरपालिकाका लागि गरिएको कांग्रेस र माओवादी बीचको गठबन्धन फलदायी देखिएन भने संघ र प्रदेशका निर्वाचनमा एमाले र माओवादीका बीच भएको गठबन्धन पूर्णरूपेण सफल भएको थियो । कांग्रेस र माओवादीका बीचमा भएको गठबन्धन भने प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुरमा मेयर बनाउनमात्रै गरिए जस्तो देखिएको थियो ।

मिल्दो अमिल्दो जे भए पनि भर्खरै सम्पन्न चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले गठबन्धन बनाएका थिए तर कांग्रेसको गठबन्धनलाई गठबन्धन भनियो, एमालेको गठबन्धलाई नजरअन्दाज गर्दै एमाले एक्लै चुनावमा गएको व्याख्या गरियो ।

नेकपा एमाले र माओवादी केन्द्रका बीचमा गरिएको गठबन्धनले सफलता प्राप्त गरेको देखेपछि गठबन्धन गर्नुपर्दछ भन्नेतर्फ कांग्रेसको मनस्थिति पनि डोरिएको पाइन्छ । विदेशी हस्तक्षेप र स्वदेशी मानसिकताका कारण माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता आफूलाई कम्युनिष्ट भन्न रूचाउने पार्टीहरूसँग गठबन्धन हुनु असम्भवप्रायः नै थियो तर नेकपा एमालेका अध्यक्ष केपी ओलीको व्यवहार र प्रधानमन्त्री हुँदाका कदमहरूले सम्भव तुल्याइदिए । अन्ततः कांग्रेस, माओवादी र एकीकृत समाजवादी सबै राजनीतिक दलहरूलाई चुनावी तालमेलले विसं २०७९ को स्थानीय निर्वाचनको परिणाममा तात्विक असर पारेको विश्लेषण गरिएपछि सबै दलहरू पुनः आगामी निर्वाचनमा समेत गठबन्धनका लागि हौसिएको देखिन्छ ।

गठबन्धन विभिन्न खाले हुन्छन् । कुनै दलहरूका बीचमा भएको गठबन्धनलाई पवित्र र कुनै दलहरूका बीचको गठबन्धनलाई अपवित्र भनेर परिभाषित गर्ने गरिएको पनि पाइन्छ । चुनावअघि नै गरिने गठबन्धन एक खाले हो भने चुनावपछि गरिने गठबन्धन अर्कै खाले । चुनावअघि नै गरिने गठबन्धनमा पनि अनेक थरिका उपाय अपनाइएको पाइन्छ । एक दलले अर्को दललाई मैदान खाली गरिदिएर चुनाव जित्ने वातावरण बनाइदिने एक खाले गठबन्धन हो भने कुनै ठूलो दलको चुनाव चिहृन लिएर सानो दल निर्वाचनमा होमिने अर्को खालको गठबन्धन । एक दलले अर्को दललाई गाली नगरी, कमजोरी नऔंल्याई एकले अर्कोलाई सहयोगी वातावरण तयार गरी जाने किसिमको पनि गठबन्धन हुनसक्दछ ।

चुनावको परिणाम आइसकेपछि सरकार चलाउनका लागि साझा कार्यक्रम तयार गरेर अघि बढ्ने खालको गठबन्धन पनि दलहरूले गर्न सक्दछन् । जे जस्ता गठबन्धन गरिए पनि नेपालमा गरिएका गठबन्धनमा एकले अर्कोलाई पूर्णरूपमा विश्वास गरेर अघि बढ्न सके जस्तो पाइँदैन । कहिँ न कहिँ शंकाको घेरा राखिरहेको देखिन्छ भने अर्कोको भागको केही भए पनि आफ्नातिर ल्याउन धम्की दिने गरिएको पाइन्छ । जे जसरी गठबन्धन गरिए पनि कुनै न कुनै राजनीतिक दल कुनै न कुनै रूपमा मर्कामा परिहेको भने निश्चित रूपमा हुन्छ ।

हाम्रा टोलमा दुईजना मित्र छन् । दुवै सँगसँगै मर्निङ वाकमा निस्कने गर्दछन् । हप्तामा दुई पटक जस्तो एकजना मित्रले मासु किनेर घर ल्याउने गर्दछन् भने उनले मासु किन्ने बित्तिकै अर्का छिमेकी मुला किन्दछन् । मूला किन्नेले घर आइपुगेपछि मासु किन्नेलाई तपाईंले मासु पकाउँदा मेरो यो मुला पनि सँगै पकाइदिनु भन्दै अनुरोध गर्दछन् । पाकी सकेपछि मलाई मुला र झोलमात्रै दिनु, मासु पर्दैन भन्छन् ।
मासु किन्नेलाई पनि नजिकको छिमेकी, त्यसमाथि सधैंसँगै मर्निङ वाक गर्ने छिमेकीको कुरा टार्न गाह्रो पर्दछ र मान्दछन् । मुला लैजाने मित्र मुला लगेकै भरमा मासुको झोल स्वाद लिएर खाने गर्दछन् । शनिबारको दिन त प्रायः यो तारतम्य मिलिहाल्छ, मौका परे अरू दिन पनि उनलाई ताक पर्ने गर्दछ । मुला किन्नेले बेलाबेलामा मिट मसालाको पाकेट पनि ल्याइदिने भने गर्दछन् ।

कति हुँदा पनि मासु किन्नेले मुला किन्नेलाई छाड्न सकेका छैनन् । मासु किन्नेको भारी कहिलेकाहीँ गह्रुंगो हुँदा मुला किन्नेले बोकिदिन्छन् । मासु किन्नेको कमजोरी के छ भने उनी एक्लै हिँड्न त्यति जाँगर गर्दैनन् । उनलाई स्वास्थ्य तन्दुरुस्त राख्न पनि एकजना साथी अनिवार्य चाहिन्छ । मुला किन्नेबाला भएनन् भने मासु किन्नेवाला बिहान घरबाटै निस्कँदैनन् । त्यसैले पनि यी दुईको संगत वर्षौं भयो चलिरहेकै छ । अरू बेला नभेटिए पनि बिहान भने पक्कै भेटिन्छन् । त्यसैले यसमा एकको मात्र स्वार्थ पूरा भएको छैन कि दुवैलाई फाइदा भएकै देखिन्छ ।

सरसर्ती हेर्दा मुला किन्नेले गरेको काम त्यति नसुहाउँदो पनि देखिँदैन । छिमेकीले किनेर ल्याएको मासुको एक चोक्टा पनि उनले मागेका छैनन् । आफैँले किनेर लगेको मुला र त्यसमा हालेको पानीमात्रै उनले फिर्ता ल्याउने गरेका छन् भने यसमा टीकाटिप्पणी गरिरहनु पर्ने पनि देखिँदैन तर छिमेकीलाई यसबाट परेको मर्का भने सही नसक्नु भएको छ । मासु किनेर ल्याएर मुलाको स्वाद आएको झोल पिउन पर्दाका पीडा बेग्लै छ, यसको मूल्यांकन अरूले गर्न सक्दैन । मुला किन्नेले मुलाको रसमा मासुको स्वाद भेटेको छ भने मासु किन्नेले मासुको रसमा मुलाको स्वाद ।

नेपालका वर्तमान राजनीतिक दलहरू पनि निर्वाचनहरूमा गठबन्धन बनाउने गरिरहेका छन् । सबैले आआफ्नै स्वार्थले गठबन्धन बनाउने कार्यमा जोडबल गरिरहेको पाइन्छ । कुनै दलले गठबन्धन गरे पनि नदेखिनेगरी गरेका छन् भने कुनै दलको गठबन्धन चर्चामा रहने गरेको छ । कुनै दलले गठबन्धन गर्दा त्यसलाई सहजरूपमा स्वीकार गर्ने गरिएको छ भने कुनै दलको गठबन्धनलाई अमिल्दो ठान्ने गरिएको छ । मिल्दो अमिल्दो जे भए पनि भर्खरै सम्पन्न चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले गठबन्धन बनाएका थिए तर कांग्रेसको गठबन्धनलाई गठबन्धन भनियो, एमालेको गठबन्धलाई नजरअन्दाज गर्दै एमाले एक्लै चुनावमा गएको व्याख्या गरियो ।

नेपाली कांग्रेसले अस्तित्वमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको थियो भने नेकपा एमालेले पनि पाए जति सबै दलहरूसँग हारगुहार गर्दै गठबन्धनका लागि जोडबल गरेको थियो । एमालेसँग गठबन्धन गर्न अस्तित्वमा आउन मुस्किल परिरहेका कमल थापाको राप्रपा, सिके राउतको जनमत पार्टी, क्रिश्चियानिटी बढाउन क्रियाशील भनी आरोप लागेको परिवार दल र नेकपा एमालेसँग निकट हुन चाहेका अन्य साना दलहरूसँग तालमेल गरेकै थियो । कांग्रेसको गठबन्धनका पक्ष र विपक्षमा निकै आवाजहरू सुनिए तर एमालेको तालमेलका बारेमा केही भन्नु पर्ने कसैले ठानेको पाइएन ।

विसं २०७४ को आमनिर्वाचनमा पनि नेकपा एमालेले माओवादी पार्टीसँग गठबन्धन गरेकै थियो । उक्त गठबन्धनलाई पूर्णतः पवित्र भनी व्याख्या गरियो भने नेपाली कांग्रेसको नेतृत्वमा भएको अहिलेको गठबन्धनलाई अपवित्रको संज्ञा दिइराखिएको पाइन्छ । पाएदेखि र नेकपा माओवादी केन्द्रले स्वीकार गर्ने हो भने एमाले आगामी निर्वाचनमै माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्न लालायित छ भन्ने कुरा एमालेका कतिपय नेताहरूका भाषण र अन्तर्वार्ताबाटै पुष्टि हुन्छ । केही नेताहरूले त माधव नेपालको पार्टी समाजवादी एकीकृतलाई समेत आहृवान गरिरहेको सुन्ने गरिएको छ तर पनि एमाले एक्लै लड्छ, कसैको भर पर्दैन भन्ने आवाजले चाहिँ ठूलो ठाउँ ओगटेको देखिन्छ ।

विसं २०७४ को आमनिर्वाचनमा पनि नेकपा एमालेले माओवादी पार्टीसँग गठबन्धन गरेकै थियो । उक्त गठबन्धनलाई पूर्णतः पवित्र भनी व्याख्या गरियो भने नेपाली कांग्रेसको नेतृत्वमा भएको अहिलेको गठबन्धनलाई अपवित्रको संज्ञा दिइराखिएको पाइन्छ ।

गठबन्धन गर्नु हुन्छ र हुँदैन भन्नेमा आ-आफ्नै तर्कहरू होलान् । निर्वाचन जित्नका लागि हो र जित्नका लागि जस्तोसुकै गठबन्धन गरे पनि हुन्छ भन्ने तर्कले भने नेपालको राजनीतिमा स्थान जमाइरहेको पाइन्छ । यसैका लागि हो भने पनि मासु किन्ने र मुला किन्नेका बीचमा रहेको अन्तर र मासु किन्नेको प्राथमिकतालाई ख्याल गरेर अघि बढ्न सक्दा नै पार्टीहरू बीचको सम्बन्ध दिगो बन्न सक्दछ । मासु किन्नेले आधा किलो किनेको थियो, मुला किन्नेले एक किलो मिसाएको थियो भनेर मुला किन्नेको योगदानलाई बढी बनाउन खोजियो भने गठबन्धन टिक्न गाह्रो पर्ने कुरामा दलहरूले ख्याल गर्नै पर्दछ ।

अहिलेको जस्तै चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिँदा बढी सिट जितेका फाइदा लिन सके पनि घाटा व्यहोर्न पर्ने भनेको नेपाली कांग्रेसले मात्रै हो । सिट संख्याका आधारमा नेपाली कांग्रेस पहिलो ठूलो दल बन्न सके पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्ने सम्भावना रहँदैन । माओवादी केन्द्र जे गरे पनि यसै तेस्रो ठूलो दल हुने भएकाले उसलाई कुनै तात्विक असर पर्दैन तर नेपाली कांग्रेस नेपालको सबैभन्दा बढी जनताले रूचाएको दल हुने सम्भावना हुँदाहुँदै पनि त्यो गुम्ने निश्चित छ । थोरै ठाउँमा उम्मेदवार उठाएपछि धेरै मत आउने भन्ने सवालै रहँदैन ।

त्यसमाथि वर्षौंदेखि जिते पनि या हारे पनि प्रजातन्त्र, लोकतन्त्र भन्दै कांग्रेसको चारतारे झन्डा बोकेर बसिरहेकालाई अर्को दलका उम्मेदवारका पछि लागेर दौडनु पर्दाको पीडा र निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन छाडेपछि पछिका निर्वाचनमा पर्ने असरका बारेमा त कसैले ख्याल गरे जस्तै देखिँदैन । त्यसैले गठबन्धनमा सामेल भएर चुनाव लडेपछि निर्वाचन परिणाममा सबैको योगदान त हुन्छ नै तर निष्पक्ष भएर कुन दलको कति भूमिका रहृयो विश्लेषण गर्न सक्नुपर्दछ । कुनै पनि निर्वाचन क्षेत्र सदाका लागि अर्को दललाई छाड्ने योजना कुनै पनि दलले बनाउन हुँदैन । आफ्नो साख रक्षाका खातिर र सत्तामा जानका लागि आवश्यकीय गठबन्धनमात्र उपयुक्त हुन्छ भन्ने कुरामा सचेत हुन जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?