उमेशले जोड्नुभयो नेपालका लागि रजत पदक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राई नेपालका लागि बुधबार रजत पदक जित्न सफल हुनुभएको छ । उहाँले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताउनुभयो ।

आठ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्यान्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गर्नुभएको थियो ।

यसअघि फिटनेस फिजिकतर्फ १७० सेमिसम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लागि कास्य पदक प्राप्त गर्नुभएको थियो । तीन खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथ्लेटिक फिजिकमा सुजिता मानन्धरले छैटौँ स्थान हात पार्न सफल भएको व्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले माल्दिभ्सबाट जानकारी गराउनुभयो ।

खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई एक लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत व्यवस्थापक राजभण्डारीले बताउनुभयो ।

यसैक्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५औँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एसियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

प्रतियोगितामा भारतका एतिनदर सिंहले मि. एसियाको उपाधि जित्नुभएको छ । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको व्यवस्थापक राजभण्डारीले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?