एन्फा कार्यसमिति बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेन्डामा प्रवेश नगरी अध्यक्ष पंकजविक्रम नेम्बाङले स्थगित गर्नुभएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार बिहान ७ बजे बैठक सुरु हुने भनिए पनि झण्डै दुई घण्टापछि मात्र बैठक सुरु भएको थियो । पहिलो बैठकको निर्णय नै विवादमा परेको एन्फाको दोस्रो बैठक बस्न नसकेको हो ।

साउन २ गतेका लागि तय बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । कार्यसमिति बैठकका लागि विविधसहित १८ वटा एजेन्डामा छलफल गर्ने तय थियो । त्यसमा सबैभन्दा बढी चासोका साथ एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्तिलाई लिएर हेरिएको थियो ।

विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले तीन सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । तीन सहायक महासचिवका लागि पाँचजना आकांक्षी देखिएका छन् ।

एन्फाले विविधसहित १२ वटा एजेन्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष केसीले पाँच र दीपक खतिवडाले एउटा एजेन्डा थप गर्न माग गरेपछि १८ एजेन्डा प्रस्तुत हुँदैछन् । २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन ।

असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित भएका थिए । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जना निर्वाचित भएका थिए । त्यसमध्ये दुईजनाका लागि चारजनाको मत बराबरी भएपछि विशेष साधारणसभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?