बाँकेमा बल्ल ४६ प्रतिशत रोपाइँ

हिमालय टाइम्स
Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा अहिलेसम्म ४६ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाभर हालसम्म जम्मा ४६ प्रतिशतमात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र बाँकेले जनाएको छ । केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा अहिलेसम्म करिब ९० प्रतिशत रोपाइँ भइसक्नुपर्ने हो । तर, समयमै पानी नपर्दा जिल्लामा अपेक्षाकृतरूपमा रोपाइँ हुन नसकेको हो । हालसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा ८५ प्रतिशत धान रोपाइँ सकिएको छ । राप्ती सोनारी जिल्लाको सबैभन्दा धेरै धान रोपाइँ हुने पालिका हो । त्यहाँको उत्तरपूर्वी क्षेत्रमा धेरै धान रोपाइँ हुने गरेको छ ।

उहाँले नरैनापुर गाउँपालिकामा भने हालसम्म जम्मा पाँच प्रतिशतमात्रै धान रोपाइँ भएको बताउनुभयो । त्यहाँ सिँचाइको सुविधा नहुँदा आकासे पानीकै भरमा धानखेती हुने गरेको छ । अन्य पालिकाको हकमा पनि अहिलेसम्म अपेक्षाकृतरूपमा धान रोपाइँ हुन नसकेको प्रमुख ढकालले बताउनुभयो । ती पालिकामा न्युनतम् १५ देखि २० प्रतिशतमात्रै रोपाइँ सकिएको छ । ‘पानी प¥यो किसान खुसी भएका होलान् । हामी पनि खुसी छौँ । अब किसानले धान रोप्न पाउने भएका छन्,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ भइसक्नुपर्ने हो । तर, अहिलेसम्म ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । यसको कारण सिँचाइको सुविधा नहुनु र आकासे पानीको भर पर्नुपर्ने अवस्था हो ।’

पानी पर्दा किसानलाई राहत
लामो समयपछि पानी परेकाले जिल्लाका किसान खुसी भएका छन् । भर्खरै लगाएको धानबाली सिँचाइ अभावका कारण सुक्ने अवस्थामा आएका बेलामा पानी पर्दा यहाँका किसान खुसी भएका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा धान रोपाइँ भइरहे पनि पानी नपर्दा समस्या भइरहेको थियो । अहिलेको समय धानबाली रोप्ने समय हो । अन्नको भण्डारसमेत भनिने बाँकेमा केही ठाउँमा आकाशे पानीको भरमा धानखेती हुने गरेको छ । अहिले पनि धान रोप्ने काम भइरहेको छ । ‘केही खेतमा धान रोपेका थियौँ । पानी नपर्दा धान सक्ने अवस्थामा पुगेको थियो,’ बैजनाथ–४ की दिपा कँडेलले भन्नुभयो, ‘पानी पर्दा ज्यादै खुसी छौँ । तत्कालका लागि रोपेको धान सुक्छ कि भन्ने डर हटेको छ ।’ रोपिसकेको धान वर्षा भएपछि सप्रने भन्दै किसान खुसी भएका हुन् । किसान रामलाल पोखरेल बताउनुहुन्छ, ‘मैले एकपटक मात्रै रोपाइँ गरेको छु । पानी नपर्दा समस्या भइरहेको थियो । पानी प¥यो खुसी लागेको छ । अब बाँकी खेतमा धान रोप्नुपर्ला ।’

खडेरीका कारण धान उत्पादनमा समस्या हुने हो कि भन्ने त्रास तत्कालका लागि हटेको भन्दै राप्तीसोनारी-९ का किसान मोतीलाल परियार पनि खुसी हुनुभएको छ । उहाँका अनुसार अत्यधिक वर्षाले विशेषगरी धानबाली लगाएका किसानलाई राहत भएको छ । बाँकेमा अहिले पनि धान रोपाइँ जारी छ । यसपटक अपेक्षाकृतरूपमा पानी नपर्दा सोचेअनुसारको धान रोपाइँ हुन पनि सकेको छैन ।

कृषि ज्ञानकेन्द्र बाँकेका अनुसार जिल्लामा कुल खेतीयोग्य जमिनको १५ हजार हेक्टर क्षेत्रफल (३० प्रतिशत) मा मात्रै सिँचाइ सुविधा छ । जिल्लामा ५२ हजार २३८ हेक्टर खेतीयोग्य जग्गा छ । आकाशे वर्षाले साथ दिएको वर्ष बाँकेमा करिब एक लाख ३८ हजार ७०० टन धान उत्पादन हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?