लुम्बिनीको बजेटमा अरु प्रदेशको नक्कल: बाग्मती, गण्डकी र कर्णालीका योजनालाई समेत बजेट बिनियोजन

हिमालय टाइम्स
Read Time = 6 mins

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेट बागमति, गण्डकी र कर्णाली प्रदेशको बजेटको नक्कल गरेको पाइएको छ । अर्कै प्रदेशका योजनालाई बजेटमा समावेश गरिएपछि बजेट नक्कल गरेको पाइएको हो ।

चालु आर्थिक वर्षका लागि प्रस्तुत योजना तथा कार्यक्रममा अन्य प्रदेशका चारवटा योजनाका लागि करिब पौने करोड रकम विनियोजन भएको छ । यसबाट प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उब्जेको भन्दै आलोचना भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा बागमती, गण्डकी र कर्णाली प्रदेशका समेत योजनाहरु परेका हुन् ।

लुम्बिनीको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयले छनोट गरेका चारवटा योजना अन्य प्रदेशका छन् । योजनामा दुईवटा बागमती तथा गण्डकी र कर्णाली प्रदेशका कार्यक्रमहरु समावेश गरिएका छन् ।

लुम्बिनी प्रदेशले बाग्मती प्रदेशमा रहेको त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज र स्वास्थ्य सेवा विभाग टेकु परिसर भित्र “सडक सुधार, मर्मत सुधार, काठमाडौं” का नाममा २१ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । यसैगरी “फुटुङ साङलेखोला देखि पश्चिम साविकको कृषि सडक भई दक्षिणतर्फ तल्लो खहरे सम्मको मोटरबाटो स्तरोन्नती तारकेश्वर ७ काठमाडौं” का लागि पनि २१ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यी दुबै बजेटमा कार्यालय रहेको जिल्लामा रुपन्देही उल्लेख छ । त्रि.वि.शिक्षण अस्पताल महाराजगन्जको बजेट खर्च शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१३ हो । त्यस्तै तारकेश्वर ७ को बजेट शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१४ हो ।

त्यस्तै गण्डकी प्रदेशमा रहेको “तालबेसी लिप्यानी चमेरेओडार मिजुरे सडक कास्की” का लागि २१ लाख ५४ हजार बजेट विनियोजन भएको छ । कर्णाली प्रदेशको “सल्यान खलङगा-कालिमाटी रामपुर काल्चे घुइयाबारी-कोहलपुर सडक” का लागि चार लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । कास्कीमा बजेट विनियोजन भएको बजेट खर्च शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१२ हो । त्यस्तै सल्यान सडकको बजेट खर्च शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१५ हो । यसरी लुम्बिनी प्रदेश सरकारले ६९ लाख १६ हजार रकम बराबरको योजना तथा कार्यक्रम अन्य प्रदेशबाट कपी पेस्ट गरेको भेटिएको हो ।

एउटा प्रदेशको बजेट अर्को प्रदेशको योजना बजेट पुस्तिकामा समाबेश हुनुलाई अर्थविज्ञहरुले भने चरम लापरबाही भनेका छन् । “प्रदेशले नीति कार्यक्रम, बजेट बनाउँदा यहांका प्राथमिकतामा भन्दा पनि संघीय सरकारले तयार गरेर पठाएको नीति, बजेटका शीर्षकहरु तलमाथि, कपि पेष्ट गर्दा नै अन्य प्रदेशका कार्यक्रम लुम्बिनी प्रदेशमा परेका हुन्”-अर्थविद मनिकर कार्कीले भन्नुभयो ।

अर्थ मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले यस विषयमा आफूलाई हालसम्म कुनै पनि रिपोर्टिङ नआएको र थप बुझेर अघि बढ्ने प्रतिक्रिया दिनुभयो । बजेट निर्माण गर्ने समयमा आफू नभएको र यस्तो हुनुको कारण बारे गम्भीर भएर ध्यान दिने उहाँले उल्लेख गर्नुभयो । हालै अर्थ मन्त्रालय अन्तर्गत आएका सचिव सुवेदीले बजेटमा देखिएको त्रुटी मन्त्रालयको कमजोरीका कारण भएको नभएकोबारे बुझेर मात्रै भन्न सक्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भिमार्जुन पाण्डेले भने संघीय सरकार अन्तर्गतको अर्थ मन्त्रालयको कमजोरीका कारण यस्तो भएको दाबी गर्नुभयो । संघीय अर्थमन्त्रालयले सशर्त अनुदान पठाउने क्रममा उक्त शीर्षकका बजेट तथा कार्यक्रम लुम्बिनीमा पठाएपछि जस्ताको त्यस्तै यहाँको बजेटमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । विनियोजन गरिएको उक्त बजेट पछि शीर्षक मिलान वा बजेट नै फिर्ता समेत हुन सक्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?