राष्ट्रिय कराँते प्रतियोगिता भदौमा

हिमालय टाइम्स
Read Time = 2 mins

बनेपा । बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराँते संघले आगामी भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

उदयीमान कराँते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगितामा पुरुषतर्फ ३५, ४५, ५५ केजीमुनि र खुला तौल समूह तथा महिलातर्फ ३५, ५० केजीमुनि र खुला तौल समूह गरी जम्मा सात बजन समूहमा प्रतिस्पर्धा हुने संघका महासचिव राजन खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विभागीय टिम, विभिन्न कराँते संघ, डोजोलगायतका निकायबाट करिब २५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि १४ लाख ६५ हजार रुपैयाँ खर्चिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?