कलाकार बन्न भाँडा माझ्नेदेखि मजदुरीसम्म

Read Time = 17 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । आजभन्दा डेढ दशकअघिको कुरा हो बेगम नेपाली कलाकार बन्ने ठूलो सपना बोकेर जन्मस्थान मल्लरानी गाउँपालिका, प्युठानबाट काठमाडौं छिर्नुभयो । काठमाडौंमा रहेका टेलिभिजन र ती टेलिभिजनका स्क्रिनमा आइरहने सिरियल, फिल्ममा आफूलाई देख्न पाए हुन्थ्यो भन्ने हुटहुटीले बेगम विसं २०६४ सालमा काठमाडौं आइपुग्नुभएको थियो । तर, काठमाडौं आइसकेपछि बेगमलाई कलाकार बन्न त्यति सहज भने भएन । काठमाडौंमा बस्नेहरूको हतारो, व्यस्तता देख्दा आफूलाई कसले पो सहयोग गर्ला र भन्ने प्रश्न बेगमको मनमा आइराख्यो । तर पनि आफूले केहीमात्रामा चिनेका मान्छेहरूलाई भेट्ने र आफ्ना कुरा राख्ने काम बेगमले केही समय गर्नुभयो । कलाकार बन्ने संघर्ष गर्नेक्रममा जीवन चलाउनका लागि बेगमले काठमाडौंमा ठूलो दुःख गर्नुपर्‍यो । आफूले जानेको कुनै काम नभएकाले काठमाडौंमा कोठाभाडामा लिएर ज्यालामजदुरी गरेरै पनि केही वर्ष जीवनयापन गरेको बेगम सम्झिनुहुन्छ ।

‘त्यो समयमा कलाकार बन्छु भन्नु पनि त्यति सहज थिएन । चिनेको मान्छे कोही हुन्थेन, त्यसैले विस्तारै चिनिएला, विस्तारै कलाकार बन्न पक्कै सकिएला भनेर मैले काठमाडौंमा धेरै काम गरेँ । सायद गर्न बाँकी काम कमै होला,’ बेगमले हिमालय टाइम्ससँग भन्नुभयो । ‘मैले त्यो बेला घर बनाउने काम गरेँ, त्यसमा इँटा, बालुवा बोक्थेँ ।’ बेगम काठमाडौंका सडकमा धेरै समय भोकै हिँडेको पनि अहिले स्मरण गर्नुहुन्छ ।

गाउँमै भएको धुर्मुससँगको त्यो भेट
बेगमले काठमाडौं आउनुभन्दा पहिले एकपटक गाउँमै सीताराम कट्टेल (धुर्मुस) लाई भेट्नुभएको थियो । प्युठानमै भएको एक महोत्सवमा धुर्मुसलाई भेटेर आफूलाई पनि कलाकार बन्ने इच्छा भएको भन्दै ‘क्यारिकेचर’ सुनाउनुभएको थियो । त्यो समयमा धुर्मुसले राम्रो गर्नुहुँदोरहेछ भन्दै काठमाडौं आउँदा सम्झिनु भनेको स्मरण गर्नुभयो । ‘महोत्सवको बेलामा मैले गर्न सक्ने क्यारिकेचर गरेर सुनाउँदा काठमाडौं आएपछि मलाई कल गर्नु भन्नुभएको थियो । त्यो कुराले पनि मलाई आँट दिएको थियो,’ बेगमले भन्नुभयो, ‘तर पनि काठमाडौं पुग्नेबित्तिकै मैले धुर्मुस दाइलाई भेट्ने मौका पाइनँ । पछि एकपटक भेट्ने अवसर मिल्यो ।’

विसं २०६७ सालमा बेगमलाई धुर्मुसले बनाइरहेको हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ मा सानो भूमिकामा खेल्ने अवसर मिल्यो । धुर्मुसले दिएको त्यो अवसरले आफ्नो लक्ष्यको पहिलो खुड्किला चालेको महसुस आफूलाई भएको बेगम सुनाउनुहुन्छ । बेगम अघि भन्नुहुन्छ, ‘रेगुलर खेल्न गाह्रो थियो । केही भागमा देखिएपछि निरन्तरता भएन । आफूलाई मिल्ने स्टोरी पनि हुनुपर्‍यो । जबरजस्ती मलाई खेलाउनुप¥यो भन्न पनि गाह्रो थियो ।’

त्यो समयमा बेगमले ‘मेरी बास्सै’ मा कुञ्जना घिमिरेको नाति ‘भटभटे’ बनेको अभिनय गर्नुभएको थियो । केही भाग प्रसारण हुन थालेपछि त्यो पात्र हिट हुँदै पनि गएको थियो । धेरैले भटभटे भनेर त्यो समयमा आफूलाई बोलाउने गरेको पनि बेगम बताउनुहुन्छ । तर, प्रत्येक भागमा बेगमको ‘रोल’ पर्दैनथ्यो ।

‘मेरी बास्सै’ मा निरन्तरता हुन नसकेपछि बेगमले आफूले गरिरहेको ज्यालामजदुरीको कामलाई नै यथावत् गर्नुभयो । त्यसो त मेरी बास्सैमा देखिनेबित्तिकै त्यो काम भने छोड्नुभएको थिएन । सिरियलको सुटिङको समय मिलाएर जाने गरेको र अन्य समयमा मजदुरी नै गरेको बेगम बताउनुहुन्छ । कलाकार भएर मात्रै जीवन धान्न गाह्रो रहेछ भन्ने बुझेर बेगमले भारत जाने निर्णय गर्नुभयो । तीन महिना भारतको जयपुरमा गएर भाँडा माझ्नेदेखि गाडी धोएको काम गरेको सम्झिँदा बेगम अहिले पनि आफ्नो आँखा रसाउने बताउनुहुन्छ ।

पासपोर्ट बनाएर मलेसियाको भिसा
नेपालमा बसेर कलाकारिताबाट पैसा कमाउन सकिँदैन, जीवन चलाउन पनि गाह्रो रहेछ भन्ने लागेपछि अब विदेश जानुपर्छ भन्ने सोच आएको बेगम सुनाउनुहुन्छ । ‘विदेशमा टन्नै पैसा कमाउन सकिन्छ भन्ने थियो । गाउँमा अधिकांश युवा पनि त्यो समयमा विदेश गएका थिए । मलाई पनि अब विदेश जानुपर्छ भन्ने लागेर २०७० सालमा पासपोर्ट बनाएको हुँ,’ बेगमले झण्डै दशकअघिको कुरा स्मरण गर्नुभयो । ‘मलेसियाको भिसा लगाउने काम नि भइसकेको थियो तर मेरो उमेर नपुगेको भन्दै जान पाइनँ,’ बेगम त्यो समयमा आफू १८ वर्ष नपुगेको हुँदा विदेश जान नपाएको बताउनुहुन्छ । त्यसपछि पनि बेगमले काठमाडौंमै ज्यालामजदुरी गर्न छाड्नुभएन । त्यो बेलामा सेक्युरिटी गार्डको काम पनि गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँले अघि भन्नुभयो, ‘मलाई काम गर्न भनेपछि डर, लाज लाग्दैन । आफूले जान्ने र सक्ने काम छ भने गर्ने मान्छे हुँ, त्यो बेलाको संघर्षकै कारण आज यहाँसम्म छु जस्तो लाग्छ । संघर्ष गरिराख्यो भने अवश्य फल मिल्छ भन्थे अहिले त्यो कुरा हो भन्ने लागेको छ ।’

भूकम्प र कोरोनाले निम्त्याएको अर्को दुःख
बेगमको कलाकारितामा केही गर्न सकिएला भन्ने आशा मनबाट हटेको थिएन । तर, जब विसं २०७२ साल वैशाखमा ठूलो भूकम्प आयो त्यसले बेगमको लक्ष्यलाई पनि ठूलो धक्का दियो । काठमाडौंमा गरिरहेको ज्यालामजदुरी पनि गर्न नपाएपछि फेरि गाउँमै फर्किनुभयो । ‘भूकम्पपछि काम पाउन गाह्रो भयो, त्यसपछि म गाउँमै फर्किएँ । भूकम्पले गर्दा धेरै ठाउँमा खानलाउन नै धौ-धौ परेको अवस्था थियो । त्यो समयमा धुर्मुस-सुन्तली मेरी बास्सैलाई रोकेरै समाजसेवामा लाग्नुभएको थियो । म पनि उहाँहरूसँगै केही समय समाजसेवामै हिडेँ,’ बेगमले भन्नुभयो ।

‘धुर्मुस-सुन्तलीले समाजसेवाको कामलाई निरन्तरता दिनुभयो । मेरी बास्सै नै छाडेर उहाँहरू भूकम्पपीडितहरूलाई घर बनाइदिन लाग्नुभयो । मेरी बास्सैलाई अर्को टिमले निरन्तरता दिएको थियो । म पनि फेरि मेरी बास्सैमा फर्किएँ । केही समय ‘भटभटे’ भएरै मेरी बास्सैमा काम गरेँ ।’ बेगमले मेरी बास्सैमा काम गर्दै ‘रिसानी माफ’ सिरियलमा पनि स्क्रिप्ट लेखनको काम गर्ने मौका पाउनुभयो । त्यसरी दुईतिरै काम गर्न पाउँदा जीवनमा कलाकारिताबाट केही गर्न सकिन्छ कि भन्ने आशा पलाउँदै गएको थियो । काठमाडौंमा कोठाभाडा तिर्न र आफ्ना लागि केही खर्च पुगेको उहाँ सुनाउनुहुन्छ । विस्तारै मेला महोत्सवमा प्रहसनका लागि बोलाउने गरेको र त्यसै कारणले अन्य काम गर्न छाडेर पूर्णरूपमा कलाकारितामै लाग्नुभएको थियो ।

बेगमलाई पनि पछिल्लो समय विश्वव्यापी फैलिएको कोरोना भाइरसले ठूलो असर गर्‍यो । काठमाडौंबाट लाखौं मानिस गाउँ फर्किएको अवस्थामा उहाँ पनि फेरि गाउँ फर्किनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले यस्तो बनाइदियो कि, सिरियल बन्द, काठमाडौंमा अन्य काम गर्ने अवस्था पनि थिएन । केही समय यत्तिकै बसियो, महिनामा १५ हजार कमाउन सक्ने अवस्था पनि थिएन । कोठाभाडा तिरेर बस्न सक्ने अवस्था भएन । त्यसपछि अब गाउँमै गएर कृषिको काम गर्नुपर्छ भन्ने लाग्यो र गाउँ फर्किएँ ।’

रमाइलोका लागि खिचेको भिडियोले जीवन फेरिदियो
बेगमले कोरोना भाइरस आउनुभन्दा अघि एउटा वेब सिरिज बनाउनुपर्छ भन्ने लागेर तीन भाग खिचेर ‘हार्डडिक्स’ मै राख्नुभएको थियो । ‘त्यो बेला ठूलो अपेक्षाभन्दा पनि यतिकै रमाइलो पनि हुन्छ भन्ने तरिकाले खिचेका थियौँ । युट्युबमा अपलोड पछि गरौंला भन्ने लागेको थियो तर जब कोरोनाका कारण गाउँमै बसिराख्नुपर्‍यो अन्य काम नहुँदा त्यही भिडियो भए पनि युट्युबमा अपलोड गरिदिनुपर्‍यो भन्ने सोचले युट्युब बनाएर अपलोड गरेँ,’ बेगम भन्नुहुन्छ । ‘त्यो एक भाग अपलोड गरेको केही दिनमै चार लाखभन्दा बढीले हेरे । मैले सोचेकै थिएन कि त्यो भिडियोलाई दर्शकले यति धेरै मन पराउँछन् । त्यसपछि अरू भाग पनि राख्नुपर्छ भन्ने लागेको तीन भागसम्मै अपलोड गरेँ र तीनवटै भागले लाखौं भ्युज पायो ।’

बेगमले दर्शकले भिडियो मन पराउन थालेपछि र कोरोना भाइरसका कारण भइरहेको लकडाउन पनि विस्तारै हट्न थालेपछि त्यो भिडियोलाई निरन्तरता दिनुपर्छ भन्ने सोचले नयाँ कथामा भिडियो बनाउन थाल्नुभयो । सिरिजको नाम के राख्ने भन्ने विषयमा सोचिरहँदा बेगमले मेरी बास्सैमा आफूले बोलिरहेको ‘डाइलग’ लाई नै राख्ने विचार गर्नुभयो । त्यो समयमा ‘गाह्रो छ हो मलाई’ भनिरहँदा हिट पनि भइसकेको थियो । त्यही डाइलग राखेर सुरु गर्नुभयो । केही भागपछि नाम अलि लामो पनि भएको र टाइप गर्न गाह्रो हुन्छ कि भन्ने लागेर ‘मलाई’ शब्द हटाएर ‘गाह्रो छ हो’ मात्र राखिएको बेगम बताउनुहुन्छ ।

बेगमले सिरिजको सुरुका तीन भागसम्म कलाकार रियाशा दाहाललाई अतिथि भूमिकामा ल्याउनुभएको थियो । रियाशा र भटभटेको जोडीलाई दर्शकले मन पराउन थालेपछि दुवैजनाले मिलेर गरौँ भन्ने सल्लाहले बेगम र रियाशाले आजको दिनसम्म पनि सिरिजलाई सशक्त ढंगले अगाडि बढाउनुभएको छ ।

‘गाह्रो छ हो’ को १०७ औँ भाग पूरा
आजसम्म आइपुग्दा ‘गाह्रो छ हो’ ले १०७ औँ भाग पूरा गरिसकेको छ । ‘भटभटे माइला’ नामको युट्युबमा अपलोड गरिने यो सिरिज एक सातामा एउटा भागलाई कम्तीमा पनि २० लाख पटक हेरिने गरेको छ । जसले गर्दा अहिले सिरिजको आम्दानी निकै राम्रो छ ।
आफ्नै लेखन, निर्देशन तथा अभिनय लामै समय सिरिज अगाडि बढाउनुभएका बेगमले पछिल्लो समय भने निर्देशनको काम मनराज श्रेष्ठलाई दिनुभएको छ । पछिल्लो समय सिरिज एपिवान एचडी टेलिभिजनबाट पनि प्रसारण हुँदै आएको छ । नेपाली टेलिभिजनको इतिहासमा सिरिजहरूमा युट्युबमा एउटै भाग करोडभन्दा माथि पटक हेरिएको निकै कम छन् । त्यस लिस्टमा ‘गाह्रो छ हो’ को भाग १४ पर्न सफल भएको छ । युट्युबमा अपलोड गरिएको ११ महिनामा एक करोड सात लाख पटक हेरेर रेकर्ड राखेको थियो ।

बेगम अहिले सिरिजबाट राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । वार्षिक एक करोडमाथिको आम्दानी सिरिजबाट हुने गरेको उहाँ बताउनुहुन्छ । साथै सम्पूर्ण खर्च कटाएर आफूले ४० लाखमाथिको आम्दानी गरिरहेको उहाँको भनाइ छ । अहिले बेगमको ‘लाइफस्टाइल’ मा परिवर्तन आएको छ । उहाँले काठमाडौं उपत्यकाभित्र जमिन जोडिसक्नुभएको छ भने आफ्नै कार चढ्ने सपना पनि पूरा गरिसक्नुभएको छ । यस्तै बेगमले ०७८ साउनमा आयोजित बक्स अफिस अवार्डमा वर्षको उत्कृष्ट कमेडी कलाकारको अवार्डसमेत पाइसक्नुभएको छ ।
पछिल्लो समय भटभटे र रियाशाको जोडीलाई दर्शकले मन पराएपछि देश तथा विदेशका स्टेजहरूमा पनि उत्तिकै डिमान्ड हुन थालेको छ । आफूहरू देशभित्रका विभिन्न स्टेजमा धेरैपटक पुग्ने गरेको बेगम बताउनुहुन्छ, ‘हाम्रो जोडीलाई निकै मन पराइदिनुभएको छ । मेला महोत्सवमा बोलाउनुहुन्छ । समय मिलाएर जाने पनि गरेका छौँ ।’

बेगम आजसम्मको संघर्षबाट सिकेको महत्वपूर्ण कुरा धैर्यता बताउनुहुन्छ । उहाँले कुनै पनि काममा धैर्य भएर संघर्ष ग¥यो भने आफूले चाहेको लक्ष्यसम्म पुग्न सकिने अनुभव आफूमा भएको बताउनुभयो । ‘मैले जुन लक्ष्य लिएको थिएँ त्यहाँसम्म पुगेको छु । बीचमा निकै दुःखकष्ट आए तर त्यो समयमा विचलित हुनुहुँदोरहेनछ भन्ने पाठ सिकेको छु,’ बेगमले भन्नुभयो, ‘आज मलाई दर्शकले दिनुभएको मायाले भोलिका दिनमा थप नयाँ काम देखाउनुपर्छ भन्ने लागेको छ ।’

बेगमले भोलिका दिनमा अहिले चलिरहेको सिरियललाई अझ राम्रो बनाउने सोच रहेको बताउनुभयो । त्यसो त बेगमले अहिले पनि ‘गाह्रो छ हो’ सँगै ‘बिर्खे’ नामको अर्को सिरिज पनि बनाइरहनुभएको छ । १३औँ भाग पूरा गरिसकेको ‘बिर्खे’ मा बेगमले फरक भूमिका निभाइरहनुभएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rabindara Dhanuk
Rabindara Dhanuk
2022-07-23 3:31 pm

मन छोयो thank you Gopi Krishna sapa gai sar

रिलेटेड न्युज

छुटाउनुभयो कि ?