एनआरएनएद्वारा लगानी प्रवद्र्धन कार्यशाला, थप लगानी भित्र्याउन नीतिगत सुधार गर्न माग

Read Time = 9 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ललितपुरमा वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप विषयक एकदिने कार्यशाला आयोजना गरेको छ । एनआरएनले दशकौँदेखि उठाउँदै आएका माग सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायसँग कार्यशालामा बृहत् छलफल भएको एनआरएनले जनाएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विषयगत विज्ञ, उच्च पदस्थ अधिकारी, निजी तथा व्यवसायिक संघ संस्थाका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता रहेको बताइएको छ । खासगरी वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपलगायत विषयमा छलफल भएको एनआरएनएले जनाएको छ ।

सोही अवसरमा वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन एनआरएनए र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिकमन्त्री कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । एनआरएनएले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो ।

श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐन संशोधन कार्य अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संसद्मा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ ।’

श्रम रोजगार तथा सामाजिकमन्त्री कुँवरले सरकार विदेशमा रहेको नेपाली श्रमिकप्रति संवेदनशील रहेको बताउनुभयो । सरकारले विदेशमा रहेका नेपाली कामदारको योगदानले मुलुकको समृद्धिमा ठूला योगदान पुर्‍याएको भन्दै उहाँले विदेशमा रहेका कामदारको सुरक्षा र हक अधिकारका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यविधि बनिरहेको र छिट्टै त्यसलाई टुंगो लगाउने उहाँले बताउनुभयो । बाह्रय मुलुकले गन्तव्य मुलुकमा सामाजिक सुरक्षाका क्षेत्रमा गरिरहेका अभ्याससमेत अध्ययन गरेर सामाजिक सुरक्षाका विभिन्न आयाम र सेवा सुविधालाई समेट्न सकिने उहाँको भनाइ छ । विदेशबाट नेपाली श्रमिकले पठाएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न सरकारले योजना बनाएर अघि बढ्ने पनि उहाँले बताउनुभयो । विदेशमा रहेका अलेखबद्ध कामदार र कामका सिलसिलामा मृत्यु भएका तथा घाइते भएकालाई स्वदेश ल्याउन पनि सरकारले एनआरएनसँग सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले कोषलाई अघि बढाउन सकारात्मक कदम चालेकोमा खुसी व्यक्त गर्र्दै विदेशमा रहेका नेपालीलाई कोषमा समेट्ने कार्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल कोषमा विदेशमा रहेका नेपालीलाई समेट्न कानुनी आधार तय गर्न उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक तहमा लबिङ गर्न एनआरएनए सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
एनआरएनएका अर्का अध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगार व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । विदेशमा कार्यरत युवाको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने र राज्यसमेत संवेदनशील हुनुपर्ने उहाँको भनाइ छ । जीवनस्तर सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहे पनि स्वदेश फर्केर आएपछि पनि दुःख यथावत रहने बाध्यता रहेको भन्दै उहाँले सो बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । विदेशमा कार्यरत श्रमिकको मानव अधिकार हनन भएको भन्दै डा. केसीले एकतिहाइ अर्थतन्त्र धान्ने वैदेशिक रोजगारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएनका उपाध्यक्षसमेत रहनुभएका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर के शर्माले विदेशमा रहेका नेपालीहरू जीवनभर विदेशमा रहे पनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा समस्यामा पर्ने गरेको बताउनुभयो । उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उहाँले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न आग्रह गर्नुभयो । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप विषयक कार्यशालाको लगानी तथा डलर सत्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एनआरएनलाई स्वदेशमा लगानी ल्याउन सहज वातावरण निमार्णमा सरकार प्रतिवद्ध रहेको बताउनुभयोे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रूपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभयो । कोरोना महामारी तथा रुस-युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको भन्दै उहाँले कार्यशाला नेपालभित्र विदेशी मुद्रा भित्रयाउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताउनुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साधारण सेयरमा गैरआवासीय नेपालीलाई १० प्रतिशत कोटा छुट्याउँदा तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने रगैरआवासीय नेपालीको लगानी भित्र्याउन पनि सहयोग पुग्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव रमेश कुमार केसीले पुँजी बजारको क्षेत्रमा एनआरएनएलाई कसरी संलग्न गराउन, वैदेशिक लगानीका साथै रेमिट्यान्सको व्यवस्थापनका लागि बजेटमा व्यवस्था गरिएको बताउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपालीले डलर एकाउन्ट खोलेर मोबाइलबाट पैसा नेपाल ट्रान्सफर नहुने भन्दै सम्वन्धित देशको बैंकसँग सम्झौता अथवा सहकार्य र समन्वय गर्न बैंकरहरूलाई आग्रह गर्नुभयो । नेपालीसरह लगानी गर्ने वातावरण भएमा एनआरएनएले पचासौं अर्ब लगानी गर्नसक्ने उहाँले दाबीसमेत गर्नुभयो । एनआरएनएका निवर्तमान अध्यक्ष कुमार पन्तले एनआरएनएले स्थापनाकालदेखि नै नेपालमा लगानी भित्र्याउने र समृद्ध नेपालका लागि पर्दै आएको बताउनुभयो । एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठले बिदेशमा रहेका नेपालीको औसत आम्दानी २० खर्बभन्दा बढी भएनि रेमिट्यान्स आठ खर्ब मात्र भित्रिएको भन्दै नीतिगत सुधारमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?