निर्विकल्प राष्ट्रिय शक्ति निर्माणका लागि साना चार दलद्वारा सर्वपक्षीय भेला आयोजना

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौ । विभिन्न साना चार दलले निर्विकल्प राष्ट्रिय शक्ति निर्माण गर्ने सत्कर्ममा जुट्न आह्वान गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी, नेपाल आमा पार्टी र सचेत नेपाली पार्टीले निर्विकल्प शक्ति निर्माणका लागि खुल्ला आह्वान गरेका हुन् ।

चार पार्टीहरूले ‘एक्लाएक्लै होइन, सँगै हिँडाँै, निर्विकल्प शक्ति निर्माण गरौँ’ नारासाथ खुल्ला आह्वान गरेका हुन् । दल, स्वतन्त्र समूहहरू र व्यक्तित्वहरू समेतसँग सबैको सहभागिता, नेतृत्व, परामर्श र मार्गनिर्देशनबाट एउटा राष्ट्रिय शक्तिको नाम, झण्डा, चुनाव चिन्ह, नेतृत्व र उम्मेदवारीसमेत तय गर्न साउन ९ गते हार्दिक होटलमा सर्वपक्षीय भेलाको आयोजना गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले अब देशमा अनुभवी व्यक्तिको आवश्यकता भए पनि खराब व्यवस्थाका अनुभवी व्यक्ति भने नचाहिने बताउनुभयो । उहाँले भन्नुभयोे, ‘जसको जीवनभरिको अनुभव खराब व्यवस्था टिकाउन रह्यो, व्यक्तिगत रूपमा कोही कुशल र असल भए होलान्, मूलतः खराब व्यवस्थाको सबै अवयवलाई टिकाउनको लागि भएको थियो ।’ पुरानै व्यवस्था टिकाउन खोज्नेहरूलाई वैकल्पिक राजनीतिक दल भनेर मिडियामा प्रस्तुत गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । अहिलेको व्यवस्था फाल्न आन्दोलनमा लागेका शक्तिहरूलाई अन्तर्राष्ट्रिय शक्ति लगाएर तुहाइएको उहाँको आरोप छ । उहाँले नयाँ युगको नयाँ मागहरू उठाउन, जनताको अधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुको विकल्प नरहेको समेत स्पष्ट पार्नुभयोे । उहाँले केही दलले आफ्नो चुनाव चिन्ह, झण्डा त्यागेर, विशिष्ट व्यक्तिहरूको समेतको सल्लाह सुझाव लिएर साझा विचारसहित अगाडि बढ्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभयोे ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश कुशासनले व्याप्त रहेको टिप्पणी गरेका छन् । देशहितको लागि आफूहरूको मात्र एउटा समूह रहेको पनि उहाँले बताउनुभयो । उहाँले देश विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, ‘सबै देशभक्तहरू आ–आफ्नो तालमा हिँड्ने हो भने देशको कहिल्यै पनि विकास हुँदैन ।’ खरेलले ९५ प्रतिशत जनताले अहिलेको व्यव्स्था परिवर्तन गर्न खोजेको जिकिर गर्नुभयो । उहाँले देशका दुई करोड ९२ लाख जनता अहिलेको कुशासनबाट आजित भएको उल्लेख गर्नुभयो । अहिलेको व्यवस्थाबाट पाँच प्रतिशत जनताले मात्रले फाइदा लिइरहेको उहाँको भनाइ थियो ।

यसैगरी, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले देशमा लामो लडाइँबाट व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था नसुध्रिएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दलले जनतामाथि कुठराघात गरेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संवैधानिक निकायहरू सर्वोच्च अदालतदेखि राज्यका सबै निकायहरू अहिले कोमामा गएका छन् । प्रधानन्यायाधीशलाई निलम्बन गरेर राखिएको अवस्था छ ।’ गिरीले देशको अवस्था देखेर सच्चा नेपाली धर्तीका छोराछोरीहरूको मन पोलेको भन्दै उहाँले अब जनताले पनि सोच्नुपर्ने बेला आएको दाबी गर्नुभयोे । उहाँले देश रूपान्तरणको लागि महिनौँसम्म विचारविमर्श गरेर देशको माटोलाई माया गर्ने चार पार्टीहरू एकबद्ध भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसार्इंले सबै देशभक्त सचेत नागरिक एकजुट भए अहिलेको पुरानो व्यवस्था भत्काउन एक वर्ष पनि समय नलाग्ने बताउनुभयो । उहाँले मानिसले समयअनुसार विचार बुझ्न नसके त्यसको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले अब देशमा भएको पुरानो सिष्टम र पुरानो परम्परा तोड्न सबै मिलेमा एक वर्ष मात्र लाग्ने जिकिर गर्नुभयो । प्रसाईंले देशको राष्ट्रियतामाथि खतरा उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको अस्तित्व कुनै पनि बेला निमिट्यान्न हुनसक्ने स्थिति आएको छ । पश्चिमको महाशक्तिदेखि लिएर उत्तर दक्षिणका शक्तिले डिजाइन गरिसकेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?