प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने भन्दै प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । प्रदेश १ को नाम किरात प्रदेश नामकरण हुनुपर्ने माग गर्दै किरात राई यायोक्खाले खोटाङमा प्रदर्शन गरेको छ । प्रदेश १ को नामकरण किरात हुनुपर्ने पक्षमा जनदबाब सिर्जना गर्नका लागि यायोक्खाले दिक्तेल बजारमा प्रदर्शन गरेको हो ।

शुक्रबार दिक्तेल बजारको किरात चोकबाट बेसक्याम्प-त्रिवेणीचोक-हाटडाँडा हुंँदै भवनगैरामा आएर प्रदर्शन कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा किरात प्रदेश जिन्दावाद, किरात जाति हैन भूगोल हो, नेपाल हाम्रो देश, किरात हाम्रो प्रदेश, पहिचानविरोधी होसियार, १ नम्बर प्रदेशवासी के भन्छन्- किरात प्रदेशले भन्छन् लगायतका नारा लगाइएकोे थियो ।

बेसक्यामको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार राई, हाटडाँडामा आदीवासी जनजाति महासंघ समन्वय परिषद् अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणी चोकमा सामाजिक व्यक्तित्व डा.केके राई तथा भवनगैरामा यायोक्खाका पूर्व-अध्यक्ष पर्खनबहादुर राई र यायोक्खाका वर्तमान जिल्ला अध्यक्ष हात्तीराम राईले सम्बोधन गर्नुभएको थियो ।

किरात शब्द जातीय नभई पहिचान भएकाले अभियानमा ऐक्यबद्धता जनाउन यायोक्खाले सबैलाई आग्रह गरेको छ । प्रदेश १ को नाम किरात प्रदेश नामकरण नभएसम्म रचनात्मक प्रदर्शन गरिदै जाने यायोक्खाका अध्यक्ष राईले बताउनुभयो । यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?