पुस्तक : पाँचजना कविको संयुक्त कृति, ‘आजको आकाश’

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे
मेरा हातमा अहिले एउटा पुस्तक छ ‘आजको आकाश’ शीर्षकको संयुक्त कवितासंग्रह । यस संग्रहको विशेषता भनेको के हो भने यो पाँचजना कविहरूको संयुक्त कवितासंग्रह हो । अझै अर्को विशेषता पनि छ त्यो हो यस संग्रहका कविहरूको यो तेस्रो संयुक्त कवितासंग्रह हो र यही शीर्षकमा तीनपटक प्रकाशित भइसकेको छ । उहाँहरूको यही शीर्षकको पहिलो कवितासंग्रह आएको ३७ वर्ष भइसकेको छ । उहाँहरूको यो समूह छुट्टिएको छैन । पहिलोपटक २०४२ सालमा आरके धर्मस्थली, जीवराज घिमिरे, प्रहृलाद पोखरेल, रवीन्द्र आशिष शैली र राजेन्द्रप्रसाद अधिकारीले यही शीर्षकमा पहिलोपटक संयुक्त कवितासंग्रह प्रकाशित गर्नुभएको थियो । त्यसबेलाको परिवेश छुट्टै थियो देशमा पञ्चायती व्यवस्था थियो ।

त्यसपछि उहाँहरूले २०६४ सालमा दोस्रोपटक पनि यही शीर्षकमा अर्को कवितासंग्रह प्रकाशित गर्नुभयो, कविहरूको समूह यही नै रहिरहृयो । त्यसबेला फेरि अर्को खालको परिवेश देशमा स्थापित भएको थियो । अनि हालैमात्र पनि यही शीर्षकमा तेस्रो संग्रह पनि उहाँहरूले प्रकाशित गर्नुभएको छ । यो पहिलोपटक प्रकाशित भएको कवितासंग्रहको अर्को संस्करण होइन, छुट्टै कविताहरू समावेश गरेर प्रकाशित गरेको त्यही शीर्षकको र तिनै कविहरूको कृति हो । यस कारणले पनि यो फरक महत्वर विशेषता बोकेको कृति हो भन्न सकिन्छ । पुस्तक दायित्व वाङ्मय प्रतिष्ठान नेपाल चाबहिलबाट प्रकाशित भएको छ भने सर्वाधिकार रचनाकारहरूमा सुरक्षित रहेको छ ।

पहिलो संस्करणका रूपमा २०७९ साल जेठ २ गते बुद्धपूर्णिमामा यो पुस्तक प्रकाशित भएको छ र यो ५०५ प्रति छापिएको छ । डिएमआई साइजको यस पुस्तकमा भूमिका खण्डसहित १२४ पृष्ठ रहेका छन् भने मूल्य ३७५ रुपैयाँ रहेको छ । पुस्तकमा तौलयुक्त सेतो कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धिहरू कम भेटिन्छन् । यस पुस्तकको आवरण रमेश पौडेलले तयार पार्नुभएको छ । आवरणमा माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘आजको आकाश’ भनेर लेखिएको छ र त्यसमुनि कोष्ठकमा साना अक्षरमा तेस्रो संयुक्त कवितासंग्रह भनिएको छ । तल पाँचजना कविहरूको नाम वर्णानुक्रममा दिइएको छ । पुस्तकको लेआउट प्रदिप थापाबाट भएको छ भने स्मृति प्रिन्टिङ प्रेस नयाँ वानेश्वर काठमाडौंबाट यस पुस्तकको मुद्रण भएको छ ।

विविध प्रयोग गरिएको यो कवितासंग्रह समग्र नेपाली कवितासंग्रहभन्दा फरक शैलीमा आएको छ । राज्यव्यवस्था, राजनीति, कोरोना महामारी, विकास, हाम्रा दैनिकी र व्यवहार, प्रकृति, व्यावहारिक सूक्तिहरू, पर्यावरण, इतिहास, अध्यात्मलगायतका विषयहरू यहाँका विभिन्न कविताहरूमा समेटिएका छन् ।

भूमिका खण्डमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको प्रकाशकीय मन्तव्य ‘कविता विधाको अनुपम कृति’ र प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेलको भूमिका ‘पाँच कविका दृष्टिमा आजको आकाश’ रहेका छन् । उहाँको यस भूमिकामा पाँचैजना कविको संक्षिप्तमा चिनारीसमेत दिइएको छ । त्यसपछि वर्णानुक्रममा पाँचैजना कविका कविताहरू क्रमशः दिइएको छ । आकाश-१ मा आरके धर्मस्थलीको लामो कविता ‘गणतन्त्र’ दिइएको छ । १७ पृष्ठको यस लामो कवितामा कविले हाल विद्यमान राज्यप्रणाली ‘गणतन्त्र’ प्रति आक्रोश व्यक्त गर्नुभएको छ । सोचेअनुसार गणतन्त्रले काम गर्न नसकेको हुँदा यो नेपाली जनताका लागि गाँणतन्त्र बन्न पुगेको आशयको भाव यस कवितामा रहेको छ । शीर्षक एकै शब्दमा रहेको छ ।

आकाश–२ मा जीवराज घिमिरेलाई समावेश गरिएको छ । उहाँका यहाँ सातवटा कविताहरू समेटिएका छन् । एक शब्दको एक, दुई शब्दका दुई, तीन शब्दका दुई, चार शब्दको एक र पाँच शब्दको शीर्षकका एकवटा कविता यहाँ समेटिएका छन् । उहाँका कविताले दुईदेखि चार पृष्ठसम्म ओगटेका छन् । आकाश-३ मा प्रहृलाद पोखरेल रहनुभएको छ । उहाँका यहाँ अनुवाद गरिएका छोटा-छोटा सूक्तिमय घतलाग्दा वाणीका बान्कीहरू रहेका छन् । उहाँले अनुष्टुप, वसन्ततिलका, शार्दूलविक्रीडित, स्रग्धरा, शिखरिणी, मन्दाक्रान्ता, उपजातिलगायतका छन्दहरू प्रयोग गरेर कविता लेख्नुभएको छ । पुस्तकमा उहाँका विभिन्न शीर्षकमा १४ वटा पुस्तकहरू यसपूर्व नै प्रकाशित भइसकेको पनि उल्लेख छ ।

यसपछि आकाश-४ मा रवीन्द्र आशिष शैली रहनुभएको छ । पुस्तकमा पाँचजनामध्ये सबैभन्दा बढी उहाँका १६ वटा कविताहरू समावेश भएका छन् । कविताका शीर्षकहरू छोटा छन् । एकदेखि तीन शब्दका शीर्षकमा कविताहरू छन् । एक शब्दका ९, दुई शब्दका पाँच र तीन शब्दका २ वटा कविताहरू समेटिएको छ । उहाँका सबै कविताहरू छोटा-छोटा छन् । तीनवटा कविताले दुई पृष्ठ र अरू बाँकी सबै एकै पृष्ठमा अटाएका छन् । उहाँका कविताहरूका शीर्षक र फैलावट दुवै छोटा छन् । यसपछि आकाश-५ मा राजेन्द्रप्रसाद अधिकारी रहनुभएको छ । यहाँ उहाँका आठवटा कविताहरू रहेका छन् । उहाँका कविताहरू दुईदेखि पाँच शब्दसम्मको शीर्षकमा रहेका छन् । फैलावटमा पनि उहाँका कविताहरू दुईदेखि चार पृष्ठसम्मका छन् ।

यसरी विविध प्रयोग गरिएको यो कवितासंग्रह समग्र नेपाली कवितासंग्रहभन्दा फरक शैलीमा आएको छ । यो नेपाली साहित्य भण्डारमा थपिएको एउटा प्रयोगात्मक कवितासंग्रह हो भन्दा फरक पर्दैन । राज्यव्यवस्था, राजनीति, कोरोना महामारी, विकास, हाम्रा दैनिकी र व्यवहार, प्रकृति, व्यावहारिक सूक्तिहरू, पर्यावरण, इतिहास, अध्यात्मलगायतका विषयहरू यहाँका विभिन्न कविताहरूमा समेटिएका छन् । यसप्रकारको प्रयोगवादी कृतिका लागि पाँचैजना कविहरूलाई बधाई छ र कृतिको सफलताको कामना । अन्यान्य कृतिहरूका लागि कविजीहरूमा अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
प्रह्लाद पोख्रेल
प्रह्लाद पोख्रेल
2022-07-23 10:20 am

कृपया दोस्रो संयुक्त कवितासङ्ग्रह २०६३ मा प्रकाशित भएको बुझिदिनुहोला। समीक्षकलाई असीमित धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?