वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ ।

गए रातिको बाढीले मेलम्ची-हेलम्बु तथा मेलम्ची-पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् ।

हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ ।

त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सुत्न पाएका छैनन् ।

“बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो ।

मेलम्ची नगरपालिकाको राम्चेमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?