जिल्ला अदालत लमजुङबाट शतप्रतिशत मुद्दा फर्स्योट

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत मुद्दा अदालतमा फर्स्योट गरेको दाबी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत गर्दै अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको बताउनुभयो ।

उहाँका अनुसार जिल्ला अदालतमा अघिल्लो आवको जिम्मेवारी सरेका र सो आवमा नयाँ दर्ता भएका समेत कुल ५१२ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखिएकोमा ५३० मुद्दाहरू फर्स्योट गरी लक्ष्यभन्दा बढी १०३ प्रतिशत मुद्दा फर्स्योट भएको छ ।

वार्षिक अनुमानित लागत ७४३ को आधारमा ७१.३३ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । त्यस बाहेक हालसम्मको स्थिति आंकलन गर्दा कुल मुद्दा संख्या ८११ पुगेको हुँदा फर्स्योट प्रतिशत ६५.३५ प्रतिशत मात्र देखिन्छ ।

गत आवको कुल अवधिमा ४६२ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा ५३० वटा नयाँ मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश खनालले बताउनुभयो । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका मुद्दा २८१ रहेका छन् । तीमध्ये २१३ मुद्दा फर्स्योट भई ६८ वटा मुद्दा फैसला हुन बाँकी छ ।

त्यसैगरी, गत आवको अवधिमा दर्ता भएका नयाँ मुद्दा ३१७ वटा मध्ये २१३ वटा फर्स्योट भई चालु आवका लागि पनि गत आवको जस्तै २८१ वटा मुद्दाको जिम्मेवारी सरेको बताउनुभयो । जिल्ला अदालतमा गत आवमा मात्र अनुमानभन्दा बढी मुद्दा दर्ता भएको नभई अघिल्ला दुई वर्षमा पनि अनुमानको तुलनामा बढी मुद्दा दर्ता भएको देखिन्छ ।

आव ०७६/७७ मा १५१ वटाको जिम्मेवारी सकेको थियो भने ३६६ वटा नयाँ दर्ता भए र त्यो वर्षमा कुल २९२ मुद्दा फर्स्योट भई प्रतिशतमा ५६.४८ प्रतिशत प्रगति भएको थियो । आव ०७७/७८ मा २२५ वटा जिम्मेवारी सरेका थिए भने नयाँ ४२९ दर्ता भएर र ३७३ वटा मुद्दा फर्स्योट भई ७५.०३ प्रतिशत प्रगति भएको थियो ।

गत आव ०७८/७९को अवधिमा २८१ वटा जिम्मेवारी सर्‍यो, ५३० वटा नयाँ दर्ता भए र ५२० वटा फर्स्योट भई ६५.३५ प्रतिशत प्रगति हासिल भएको जिल्ला न्यायाधिश खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?