साधना म्युजिक अवार्ड (रिवार्ड) का उत्कृष्ट पाँचलाई प्रमाणपत्र

Read Time = 4 mins

काठमाडौं । साधना म्युजिक अवार्ड (रिवार्ड) का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ ।

नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्गत विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।

चाँडै नै एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।

अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताउनुभयो । उहाँले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशिसमेत दिन थालिएको जिकिर गर्नुभयो । सुरुमा ठूलो रकम दिन नसकिए पनि यो एउटा सुरुवात भएको उहाँको भनाइ थियो ।

अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषयमा लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उहाँले बताउनुभयो । आफ्नो संस्थाले यसअघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उहाँले रिवार्डले झन् संस्था, कलाकार/सर्जक/स्रष्टाको गरिमा बढ्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताउनुभयो । उहाँले देशको कला, संस्कृति, साहित्य, संगीतले अन्तर्राष्ट्रियरूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्न राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताउनुभयो । कला, साहित्य, संगीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?