युक्रेनी खाद्यान्न निर्यात गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर

Read Time = 3 mins

इस्तानबुल । युद्धरत रुस र युक्रेनले ब्ल्याक सीबाट युक्रेनी खाद्यान्न निर्यात गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । टर्कीको राजधानी इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा रुसी रक्षामन्त्री सर्गेइ सोइगु र युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सँगै बस्न अस्वीकार गर्नुभएका उहाँहरूले सम्झौतापत्रमा पालैपालो हस्ताक्षर गर्नुभएको थियो । पहिले रुसी रक्षामन्त्री र त्यसपछि युक्रेनी पूर्वाधारमन्त्रीले हस्ताक्षर गर्नुभएको थियो ।

युक्रेनी खाद्यान्न अभावका कारण दशौँ लाख मानिसहरू भोकमरीको जोखिममा छन् । यस सम्झौताले युद्धका कारण युक्रेनमा थन्किएका लाखौँ टन अन्न निर्यात गर्न अनुमति दिनेछ । यसले युक्रेनमाथि रुसी आक्रमणका कारण विश्वमा देखिएको खाद्यान्न संकट समाधान गर्न सक्ने अपेक्षा गरिएको छ ।

रुसी रक्षामन्त्री सोइगुले सम्झौताले आगामी दिनहरूमा यस प्रक्रिया सुरु गर्न समाधानका उपायहरू प्रदान गर्न सक्ने बताउनुभएको छ । आफूले युक्रेनी बन्दरगाहबाट कृषि उत्पादनहरूको निर्यातमात्र नभई रुसी बन्दरगाहबाट पनि कृषि उत्पादन र मल निर्यातको कुरा गरेको उहाँको भनाइ छ ।

यस सम्झौताका लागि संयुक्त राष्ट्रसंघ र टर्कीले मध्यस्थता गरेका थिए । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य राष्ट्र टर्कीको रुस र युक्रेन दुवै देशसँग राम्रो सम्बन्ध छ । यस सम्झौताका लागि उनीहरूले दुई महिनादेखि पहल गरेका थिए ।

सो समारोहमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनको उपस्थिति थियो । संयुक्त राष्ट्रसंघले यस सम्झौतालाई ‘ऐतिहासिक’ भनेको छ । राष्ट्रसंघका महासचिव गुटरेसले यस सम्झौता लागू गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनले यस सम्झौतामा भूमिका निभाएर आफ्नो देशले गर्व महसुस गरेको बताउनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?