सूर्यका दुई सिर्जना लोकार्पित

हिमालय टाइम्स
Read Time = 2 mins

काभ्रे । साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको ‘अक्षरका स्वरूप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्यालबाट’ संस्करणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उहाँले ती दुई कृतिको विमोचन विद्यार्थीहरूको हातबाट एक कार्यक्रम बीच गराउनुभएको हो ।

लोकार्पण गरिएका दुई कृतिमध्ये अक्षरका स्वरूपभित्र विविध भाव झल्कने सयवटा मुक्तकहरू संग्र्रहित छन् । चोटिला मुक्तक लेख्न सीपालु लाकोजूका यसअघि भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन गरी चारवटा मुक्तकका पुस्तक प्रकाशित छन् । पुस्तकमा देशप्रेम, समाजमा रहेका विकृतिविरुद्ध असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनीतिक बेथितिजस्ता विषय मुक्तककारले उठाउनुभएको छ । लाकोजूको अर्को विमोचित पुस्तक स्मृतिको आँखीझ्यालबाट लेखकको बाल्यावस्थाको संस्मरण हो ।

निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्नेगरी तयार पारिएका निबन्धहरूको सँगालो ‘स्मृतिको आँखीझ्यालबाट’ निबन्धसंग्रह स्कुले छात्रछात्रादेखि कलेज तहका विद्यार्थीहरू, सामान्यदेखि विशिष्ट खालका पाठकहरूलगायत अनुसन्धाताका लागिसमेत खुराक प्रस्तुत गर्न सक्ने खालको छ । करिब तीन दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाउँदै आउनुभएको छ । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत क्रियाशील रहँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?