कृषि बैंकलाई सुरक्षा श्रमिकको चेतावनी

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु)ले नेपाल राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने कृषि विकास बैंकका कर्मचारीमाथि कारबाहीको माग गरेको छ । नेष्टुले झण्डै एक हजार श्रमिकले २०७८ साउनदेखि १३ हजार चार सय ५० रुपैयाँमा १५ सय ५० रुपैयाँ वृद्धि गरी मासिक १५ हजार पुर्‍याएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरी टेण्डर खोलिएको र विरोध गर्ने दबाउने काम भएको आरोप लगाएको छ ।

नेष्टुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रमिकमाथि गरिएको शोषणविरुद्ध सशक्त आवाज उठाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । नेष्टुले भनेको छ,‘टेण्डर पनि सुनियोजित ढंगले छवटा क्षेत्रमध्ये तीनवटा क्षेत्र गरुड नामक कम्पनीलाई पार्ने गरी सोही अनुकूलको मापदण्ड तयार गरी बैंकका कर्मचारीको मिलेमतो टेण्डर पार्ने काम भयो । विगत लामो समयदेखि कार्यरत श्रमिकले न न्यूनतम पारिश्रमिक पाए, न रोजगारी नै रह्यो । गरुड सेक्युरिटीले रोजगारी मात्रै खोसेन, श्रमिकलाई पोष्ट, पोष्टमा धम्क्याउने र तर्साउने कामसमेत गर्‍यो ।’

नेष्टुले गरुड सेक्युरिटीले ठेक्काको नाममा पुराना श्रमिकलाई कृषि विकास बैंकको निर्देशनमा निकाल्न काम गरेको पनि आरोप लगाएको छ । नेष्टुद्धा जारी विज्ञप्तिमा भनिएको छ,‘पुराना श्रमिकले श्रम कानुनअनुसार सेवा तथा सुविधा माग्छन् भने सुनियोजित ढंगले कृषि विकास बैंकले योजना बनाएर छानीछानी श्रमिक निकाल्न निर्देशन दिएबमोजिम गरुड कम्पनीले कार्यान्वयन गरेको देखिन्छ ।’
५५ करोडको ठेक्कामा कृषि बैंकले आफूलाई मनपरेको श्रमिक आपूर्तिकर्तालाई सोझै ठेक्का पाउने मापदण्ड राखेर टेण्डर गरेको नेष्टुको भनाइ छ ।

संगठनका अध्यक्षका प्रेमबहादुर कार्कीले भन्नुभयो ‘मौलिक हक बन्द गर्छ भने हामीलाई स्वीकार्य छैन । कृषि विकास बैंकका कर्मचारीले ध्यान दिएर सुने हुन्छ । हामीसँग राज्यसँग च्यालेन्ज गर्ने जनशक्ति छ । सकेसम्म शान्तिपूर्ण ढंगले समस्या हल होस भन्ने चाहेका छौं । सडकमा आउनुपरे कृषि विकास बैंकले आन्दोलन थेग्न सक्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?