देश सामान्य आँखाले देखेजस्तो छैन, पूर्णरुपले अभिभावकबिहीन छ : राजेन्द्र लिङदेन

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।

आईतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकबिहीन भएको बताउनु भयो । उहाँले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताउनु भयो । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताउनु भयो ।

उहाँले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पार्नुभयो ।

उहाँले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गर्नुभयो । उहाँले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गर्नुभयो ।

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गर्नुभयो । उहाँले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गर्नुभयो । उहाँले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले उठाएका मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता स्वीकार्नुपर्ने र ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्ने बताउनु भयो ।

अध्यक्ष लिङदेनले आउने चुनाव ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?