पारस मैदानमा उत्रिने

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाली क्रिकेटका सफल खेलाडी पारस खड्का एकपल्ट पुनः मैदानमा उत्रिने हुनुभएको छ । गत वर्ष नै सन्न्यास घोषणा गरिसक्नुभएका पारस लेजेन्ड्स लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मैदान उत्रिन लाग्नुभएको हो ।

आगामी सेप्टेम्बर र अक्टोबरमा हुने लेन्जेन्ड्स लिगमा पारससहित विश्वका हस्ती क्रिकेटरहरू मैदान उत्रिने हुनुभएको छ । यसअघि गत जनवरीमा भएको प्रतियोगितामा वल्र्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोली गरी तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । उपाधि विश्व जायन्ट्सले जितेको थियो ।

यसपटक प्रतियोगिता भारतमा हुँदैछ । भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्यान्डका लेजेन्ड्सले प्रतियोगितमा भाग लिनेछन् । यसपटक पारससँगै श्रीलंकाका पूर्वमहान् बलर चामिन्डा भास, ज्याक्स कालिस, सौरभ गांगुली, हरभजन सिंह, इरफान पठान, ओइन मोर्गन, डेल स्टेन, शेन वाट्सनलगायतका विश्वभरका चर्चित खेलाडीहरू खेल्नुहुनेछ ।

पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १५ वर्ष खेल्नुभयो । २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उहाँ कहिल्यै नेपाली टोलीबाट छुट्नुभएन । उहाँको कप्तानीमा नेपाल डिभिजन पाँचबाट एकसम्म उक्लियो । टी-२० विश्वकप नै खेल्यो । यस्तै नेपालले हालसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) को मान्यता पनि उहाँकै कप्तानीमा हासिल भयो । त्यतिमात्र हैन, उहाँकै कप्तानीमा नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० शृंखलासमेत जित्यो ।

खड्का नेपाली टोलीका अलराउन्डर हुनहुन्थ्यो । दाहिने हाते पारस मध्यक्रमका ब्याट्सम्यान तथा मध्यम तीव्रगतिका बलर हुनुहुन्छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध अगस्ट २०१८ मा उहाँको डेब्यु भएको थियो । त्यही नै नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला पनि हो ।

खड्का नेपालबाट अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने छैटौँ खेलाडी पनि हुनुहुन्छ । कुवेतविरुद्ध २०१२ को एसिसी ट्रफी इलाइटमा उहाँले ७७ बलमा १०६ रनको पारी खेल्नुभएको थियो । त्यसयता पारसले चार शतक प्रहार गरिसक्नुभएको छ । नेपाली टोलीबाट चार अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने उहाँ एक्लो खेलाडी हुनुहुन्छ ।

२०१९ जनवरीमा युएईविरुद्धको एकदिवसीय शृंखलाका क्रममा उहाँले शतक प्रहार गर्दै ओडिआई क्रिकेटको नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुभयो । उहाँकै कप्तानीमा त्यसबेला नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई शृंखला दुई÷एकले जितेको थियो । सोही वर्ष सेप्टेम्बरमा युएईविरुद्ध टी–२० आईमा पनि शतक प्रहार गर्दै उहाँ यस फम्र्याटमा पनि शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको थियो ।

सन् २००९ मा पारसले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नुभयो । कप्तानी सम्हालेको अर्को वर्ष नै नेपाललाई उहाँले डिभिजन पाँचको उपाधि दिलाउनुभयो । त्यसबेला आइसिसीअन्तर्गत नेपालले जितेको यो नै सबैभन्दा ठूलो प्रतियोगिता थियो । कीर्तिपुर मैदानमा भएको उक्त प्रतियोगिताको उपाधि उचालेपछि पारस नेपाली क्रिकेट समर्थकबीच लोकप्रिय बन्दै जानुभएको थियो ।

नेपाली क्रिकेटको विकास २०१० अघि नै भइसके पनि २०११ मा पुबुदु दसानायके प्रशिक्षक भएर आएपछि नेपाली क्रिकेटले योजनाबद्ध ढंगले खेल्न थालेको पारस बताउनुहुन्छ । पारसको नेतृत्व र पुबुदुको योजनामा नै त्यसपछि नेपाली क्रिकेटले ठूलो फड्को मार्‍यो ।
त्यसपछि उहाँको नेतृत्वमा नेपालले एकपछि अर्को सफलता हासिल गर्दै गयो । २०१२ मा मलेसियामा भएको डिभिजन चारको उपाधि नेपालले उहाँकै कप्तानीमा जित्यो । त्यसै वर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपालले जित्दा पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन-३ मा नेपाल च्याम्पियन बन्दै टी-२० विश्वकपमा छनोट भयो । त्यसबेलादेखि नेपालमा क्रिकेट लोकप्रिय बन्दै गएको हो । त्यसबेला खेलाडीहरूलाई विमानस्थलबाट उपत्यकाको परिक्रमा गराइएको थियो । ठूलो संख्यामा समर्थकहरू उपस्थित थिए ।

उहाँकै कप्तानीमा इतिहासमा नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेल्यो । हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिँदै उहाँ विश्वकपको पहिलो बलमै विकेट लिने विश्वकै आठौँ खेलाडी बन्नुभएको थियो ।
अफगानिस्तानविरुद्ध सो विश्वकपमा नौ रनको सनसनीपूर्ण जित निकाल्नेक्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिनुभएको थियो । त्यसक्रममा उहाँलाई धेरै मिडियाहरूले नेपालको कपिल देव भन्दै प्रशंसा गरेका थिए ।

पारसको कप्तानीमा नेपालले २०१५-१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यो । त्यसबाट डिभिजन दुईमा रहेको नेपालले २०१८ को फेब्रुअरीमा डिभिजन दुईको उपविजेता बन्दै अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनायो । उक्त छनोटको आठौँ स्थानमा रहँदै नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको थियो ।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध ११९ रनको शतकीय इनिङ खेल्नुभएको थियो । त्यसपछि पारस पहिलोपटक मैदान उत्रँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?