‘मौद्रिक नीति सकारात्मक’

Read Time = 3 mins

काडमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कर्जा उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/०८० को स्वागत गरेको छ । स्वदेशी वस्तु प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको सन्दर्भमा महासंघको माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी मौद्रिक नीति आएको भन्दै महासंघले स्वागत गरेको हो ।

कोरोनाबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियतदरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो । लघु, घरेलु तथा साना र मध्यम उद्यमका लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायले २०७९ असारसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोजसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु सकारात्मक भएको सिंहको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम दुई प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनुलगायत व्यवस्थाले स्वदेशी उद्योगको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने महासंघले जनाएको छ ।

मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिवृद्धि गरी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउने कार्यदिशासहित मौद्रिक नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थालाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासंघको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?