बजेट निर्माण प्रकरण : समितिले मगायो सिंहदरबार प्रवेशद्वारका दृश्य

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्व-अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुईवटा गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसद्ले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

उक्त समितिको आइतबार बसेको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयको सिसिटिभीको फुटेज १३ दिनपछि आफैँ मेटिने बताएपछि समितिले सिंहदरबारकै गेटको फुटेज मगाउने निर्णय गरेको हो ।

बजेट निर्माणका क्रममा १४ जेठको राति को-को आएका हुन् भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको हो । छानबिन समितिले साउन ५ मा पूर्व-अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिएको थियो । तीन घण्टाको बयानका क्रममा उहाँले सिसिटिभीको स्टोरेजबारे आफूलाई जानकारी नरहेको भन्दै विज्ञसँग परामर्श गर्न सुझाउनुभएको थियो ।

यस्तै, उहाँले आफ्नो विश्वास नलागेको खण्डमा अनधिकृत व्यक्तिको प्रवेशबारे मन्त्रालयमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिमा भन्नुभएको थियो । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउँदै राजस्वको दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको थियो । यही प्रकरणका कारण शर्माले राजीनामा दिनुभएको थियो । साउन ५ मा सकिएको संसदीय छानबिन समितिको म्याद सात दिनको निम्ति थप भएको छ । थपिएको अवधिमा अनुसन्धानलाई पूर्णता दिने समितिको तयारी छ ।

बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका १० अधिकारी र करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरिसकेको छ । त्यसैगरी, सचिवहरू मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजस्व व्यवस्थापन महाशाखाका उपसचिवहरू शरद निरौला र गोपाल खत्रीसँग पनि समितिले छलफल गरिसकेको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सिसिटिभी फुटेज भने प्राप्त गर्न सकिएको छैन । सिसिटिभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको पनि उहाँले बताउनुभयो । प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिन अघि बढ्ने उहाँको भनाइ छ ।

संसदीय विशेष छानबिन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?