धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताउनु भयो । उहाँले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताउनु भयो । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताउनु भयो ।

अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताउनु भयो । उहाँले देशको शासन प्रणाली पनि शासन देश अनुकुल नभएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बतउनु भयो । उहाँले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गर्नुभयो । उहाँले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने बताउनु भयो । अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?