नागरिकता विधेयक सम्बन्धि छलफलमा राष्ट्रिय सभामा सांसदहरु कसले के भने ?

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगिकृत नागरिकता लिनुपहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताउनु भयो । नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भएपनि कतिपय प्रावधानहरु सच्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नागरिकता सम्बन्धी विधेयक पूर्ण रुपमा संविधानको अक्षर र भावना अनुरुप आएको बताउनु भयो । उहाँले संविधानले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएमा प्रक्रिया पु¥याएर नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै निश्चित अवधि तोकेर कानून बनाउन नमिल्ने बताउनु भयो ।

वैवाहिक अंगिकृतका लागि नागरिकता दिन अवधि तोक्ने हो भने संविधानको व्यवस्थामा नै पुनर्विचार गर्नुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले विधेयक संविधान अनुकुल भएको टिप्पणी गर्नुभयो । उहाँले वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने बताउनु भयो । विधेयक सुधार गर्नुपनि आवश्यक रहेको उहाँको भनाई छ ।
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले नागरिकताको विषय संवेदनशील विषय भएकाले यसमा खुकुलो प्रावधान राख्नु नहुनेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?