युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्नुपर्छ : विश्वप्रकाश शर्मा

Read Time = 6 mins

ललितपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री शर्माले बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जान काँग्रेस सक्षम रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम रहेको बताउनु भयो ।
महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउनु भयो ।

महामन्त्री शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाैँ, अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले कलाकार राष्ट्रका गहना नभएरु गौरव भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'गहना लगाइन्छ, बिक्री हुन्छ तर गौरव बिक्री हुँदैन । दैविक प्रकोपका कारण बाढी, पहिरो गयो भन्छौँ । यो दैविक प्रकोप होइन, प्रकृतिको सही सदुपयोग गर्न नसकिएको हो ।'

उहाँले भन्नुभयो, ' दैविक प्रकोप भन्ने जमाना भन्नेकुरा बदिलएजस्तै गहना भन्ने कुरामा पनि बदलाव गर्नुपर्छ । हामीले जित्न बाँकी छ । नेपालले विजयी भएर संसारसामु उच्च शिर राखेर हामीले समृद्धिको उचाई जित्न बाँकी छ । हामीले सानैदेखि पढाउँदै आयौं गोरखाली कहिल्यै हारेनौँ । वीर गोरखालीहरु हामी कहिल्यै हारेनौँ । कसैले मलाई संसारका अरु कोही सेनासँग डर लाग्दैद गोरखालीसँग डर लाग्छ भनिदियो कुनै विश्लेषकले । तर हामी कहिल्यै पराजित नभएका होइनौँ । पराजित भएका छौँ । तर पराधिन भएका छैनौँ । सिक्किम, दार्जलिङ कुनैबेला हाम्रो थएन र ? कुमाउ, गढवाल, देहरादुन हाम्रो थिएन र ? १८१६ को सुगौली सन्धी पराजयको दस्ताबेज होइन र ? हामीमा वीर गोरखाली कहिल्यै हारिएन भनेर सिकाइयो । बाँकी त के भयो र ? आपसमा लड्ने लडिरहेकै छ । दुनियाँसँग त लड्न, दुनियाँलाई त जित्नै छैन । पहल्यिै जितिसकेका छौँ हामीले । त्यसैले न्यारेसनलाई बदलेर हारेका थियौँ तर पराधिन भएका छैनौँ भन्ने सिकाउनुपर्छ । जसरी जापानीहरु पराजित भए, हिरोसिमा र नागासाकीको पीडा उनीहरुसँग छ । उनीहरुले बदला लिन चाहेनन् बरु बदलिएर अमेरिकासामु शिर उच्च राख्न भ्याए । हामीले पनि हाम्रो पछिल्लो पुस्तामा जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी छ ।'

देशलाई समुन्नत उचाईमा लिएर जान बाँकी रहेको बताउँदै उहाँले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम रहेको बताउनु भयो । बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज आफूहरुले बनाउने बताउँदै उहाँले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा लैजाने बताउनु भयो ।

महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?