आठौँ ‘एकेएस’ अन्तर्विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०२२ सम्पन्न

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आठौँ ‘एकेएस’ अन्तर्विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०२२ काठमाडौंमा सम्पन्न भएको छ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु), नयाँदिल्ली, कोरियन अध्ययन केन्द्र (सिकेएस), स्कुल अफ ल्यांग्वेज, लिटरेचर एण्ड कल्चर स्टडिज र नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आठौँ अन्तर्विषय अन्तर्राष्ट्रिय सम्मेलन (आइआइसी) २०२२ काठमाडौंमा आयोजना गरेका हुन् ।

उक्त सम्मेलनमा दक्षिण एसियामा कोरियाली अध्ययनमा उदाएको प्रवृत्तिबारे विचार–विमर्श गरिएको थियो । ‘दक्षिण एसियामा कोरियाली अध्ययनमा उदीयमान प्रवृत्तिः तुलनात्मक र अन्तर–सांस्कृतिक परिप्रेक्ष्य’ विषयक उक्त सम्मेलनमा भारत, कोरिया, बंगलादेश र नेपालबाट ७० भन्दा बढी प्राज्ञिक विद्वान्हरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका नविनतम अनुसन्धान, सांस्कृतिक र सामाजिक सम्भावना, नेपालको सर्वोच्च अदालतले महामारीमा गरेको न्याय शास्त्रको विकास, नेपालको सर्वोच्च अदालतको न्यायिक सक्रियता र कोरियाली अदालतको आदानप्रदान तथा र कोभिड–१९ विरुद्ध लड्न कोरिया र अन्य क्षेत्रीय मुलुकबीचको अन्तर्राष्ट्रिय सहयोगका बारेमा चर्चा गरिएको थियो । त्यस्तै, सामाजिक–सांस्कृतिक सहयोग र सापेक्षतावाद, कोरिया र नेपाल बीचको संवैधानिक आयाम र संवैधानिक धारणा, कोरियाली साहित्य र कानुनी भाषाहरू तथा अदालतको भाषाको विश्वव्यापीताका बारेमा समेत चर्चा गरिएको थियो । वैदेशिक लगानी, विकास र मानव अधिकार, कानुनको सहकार्य, फौजदारी कानुनको तुलनात्मक विश्लेषण, साहित्य र मानवता शिक्षा र रोजगारी, द्विपक्षीय सम्बन्ध, सहकार्य र विकास साइबर सुरक्षाका साझा चुनौती र नेपालमा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको परिप्रेक्ष्यमा पनि सहभागीहरूले छलफल गरेका थिए । दुई दिने सम्मेलनकोे कुल सात सत्रमा मुख्यतः नेपाल, भारत र कोरिया बीचको त्रिपक्षीय सम्बन्धका बारेमा छलफल गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा जवाहरलाल युनिभर्सिटी (जेएनयु) नयाँ दिल्ली भारतकी उपकुलपति प्राध्यापक शान्तिश्री पण्डितले यस्ता सम्मेलनले सांस्कृतिक उत्थानमा थप सहकार्य र योगदानका लागि विभिन्न क्षेत्रका शिक्षाविद्हरूको अन्तरसम्बन्ध, सामाजिक मूल्य र एसियामा कोरियाली अध्ययन प्रवद्र्धन गरेको बताउनुभयो । उहाँले थप शैक्षिक आदानप्रदान तथा जेएनयुसँग अर्थपूर्ण सहकार्यका लागि नेपालका प्रमुख संस्थाहरूलाई समेत निम्तो दिनुभयो । सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि कोरियाका राजदूत एम्ब पार्क चोङ सुकले लगानी र व्यापारिक सम्बन्धका अलावा नेपाल र कोरियाबीचको सांस्कृतिक आदानप्रदान अनौठो रहेको बताउनुभयो । उहाँले नेपालमा शैक्षिक सम्बन्ध र सहकार्य कायम गर्नुपर्ने कुरामा दूतावास सकारात्मक रहेको बताउनुभयो ।

सम्मेलनका विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले यस्तो सम्मेलन शिक्षाविद्, वकिल र न्यायधीशका लागि संस्कृति, परम्परा, कानुन, न्यायलगायत विभिन्न आयाम र अभ्यासहरू आदानप्रदान गर्ने मञ्च भएको बताउनुभयो । उद्घाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख प्राडा. डिएन पराजुलीले नेपाल, भारत र कोरियाबीचको अन्तरसांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने र नेपाल ल क्याम्पसले अन्तरक्षेत्रीय शैक्षिक सहभागितालाई सधैँ प्राथमिकता दिँदै आगामी दिनहरूमा शैक्षिक सम्बन्ध बढाउने बताउनुभयो ।

सम्मेलनमा डा. कृष्णप्रसाद बस्याल, जेएनयुका प्राध्यापक रविकेश, किम क्युङ सुक, भारतका तथा कोरियाका लागि पूर्व–राजदूत स्कन्द रञ्जन तायल र जेएनयुका सत्यांशु श्रीवास्तवले मुख्य मन्तव्य राख्नुभएको थियो । विभिन्न विद्वान्ले मिलेर बत्तीस कृति प्रस्तुत गरेका थिए जसमा सरोजकृष्ण घिमिरे, डा. नेवल चौधरी, कमलराज थापा, डा. त्रिभुवन विश्वविद्यालयबाट बलराम राउत, विजयप्रसाद मिश्र, ज्ञानदर्शन भट्टराई, तेजमान श्रेष्ठ, विमलप्रसाद पौडेल, रोशनी पौड्याल, किशोर सापकोटा र सरोजकुमार गिरी, सरिता खनाल, देव महत र अर्जुन खरेलसमेत थिए भने सुस्मिता राजवार र परेश कुमार दिल्ली विश्वविद्यालय भारतबाट प्रस्तुतकर्ता थिए ।

नेपाल, भारत र कोरियाको त्रिदेशीय सहकार्यमा सम्पन्न भएको यस कार्यक्रमले तीन देशको आन्तरिक सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने कार्यक्रममा सहभागीहरूको निष्कर्ष छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?