एक वर्षमा २०५ जंगली जनावरको मृत्यु

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

चितवन । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताउनुभयो ।

त्यस्तै, गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुईवटा चोरीसिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै, गत वर्ष अर्ना, जरायो र बँदेल १०/१० वटा मरेका छन् । १० वटा अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै, एक/एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन ।

यसैगरी, सोही वर्ष ६ वटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा नीर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यस्तै, हात्ती, सर्प, अजिंगर, नीलगाई, चखेवा तथा बाँदर दुई/दुईवटा मरेका तिवारीले बताउनुभयो ।

निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयूर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक/एकवटा मरेका छन् । गत वर्ष प्राकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरीसिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिंगर, १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ तथा एउटा राज गोमन (किङ कोब्रा) सहित सातवटा सर्पको उद्धार गरिएको छ । त्यस्तै, चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा नीर बिरालो, दुईवटा निलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

निकुञ्जले गत वर्ष नै एक/एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकोसेरो, भुँडीफोर गरुड, बँदेल र मयूरको उद्धार गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै, यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।

  • रासस

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?