एभर्टनको जितमा अलीको दोहोरो गोल

हिमालय टाइम्स
Read Time = 5 mins

लन्डन । डेल अलीको दुई गोलको मद्दतमा एभर्टनले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४-२ को जित हात पारेको छ । एभर्टनको जितमा अलीले दुई तथा भिटाली माइकोलेन्को र टोम डाभिसले एक/एक गोल गर्नुभयो । ब्ल्याकपुलका गारे माडिन र क्यालुम कोन्नोलीले एक/एक गोल फर्काउनुभयो ।

खेलको छैटौँ मिनेटमा भिटाली माइकोलेन्कोको गोलबाट एभर्टनले सुरुवाती अग्रता लिएको थियो । १०औँ मिनेटमा टोम डाभिसले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पार्नुभयो । ४४औँ मिनेटमा गारे माडिनले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । ४७औँ मिनेटमा डेल अलीले गोल गर्दै एभर्टनको अग्रता पुनः दोब्बर पार्नुभयो । ५०औँ मिनेटमा क्यालुम कोन्नोलीको गोलसँगै ब्ल्याकपुल ३-२ को स्थितिमा पुग्यो । तर, ६४औँ मिनेटमा डेल अलीले गोल गर्दै टोलीलाई जित दिलाउनुभयो । प्रि-सिजनमा एभर्टनको यो पहिलो जित हो । यसअघि एभर्टनले आर्सनल र मिनेसोटासँग हार बेहोरेको थियो ।

प्रि-सिजनको अर्को मैत्रीपूर्ण खेलमा चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग ४-० को लज्जास्पद हार खाएको हो । आर्सनलको जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले एक/एक गोल गर्नुभयो । खेलको १५औँ मिनेटमा जेससको गोलबाट आर्सनलले अग्रता लिएको थियो । उहाँले वान भर्सेस वानको स्थितिमा गोलरक्षक एडुआर्ड मेन्डी अघि बढेको अवस्थामा गोल गर्नुभयो ।

३६औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पार्नुभयो । ६६औँ मिनेटमा बुकायो साकाले तेस्रो तथा इन्जुरी समयमा साम्वीले चौथो गोल गर्नुभयो । प्रि-सिजनको आर्सनलको यो लगातार चौथो जित हो । यसअघि आर्सनलले नर्नवर्ग, एभर्टन र ओर्लान्डो सिटीलाई पराजित गरेको थियो । प्रि-सिजनमा पहिलो हार बेहोरेको चेल्सीले यसअघि क्लब अमेरिकालाई हराउँदा चार्लाेटसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

यस्तै एर्लिङ ब्राउट हालान्डको गोलको मद्दतमा सिटीले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ । सिटीको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उहाँले खेलको १२औँ मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्नुभएको थियो ।

प्रि-सिजनमा सिटीको यो लगातार दोस्रो जित हो । यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि २-१ को जित निकालेको थियो । बायर्नको यो पहिलो हार हो । यसअघि बायर्नले पहिलो खेलमा डिसी युनाइटेडलाई ६-२ ले पराजित गरेको थियो ।

अर्को खेलमा इंग्लिस क्लब टोटनहम हटस्परले स्कटिस क्लब रेन्जर्समाथि २-१ को पुनरागमन जित हात पारेको छ । टोटनहमका लागि हृयारी केनले दुवै गोल गर्नुभयो भने रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकले एक गोल गर्नुभयो । खेलको २४औँ मिनेटमा एन्टोनियो मिर्काे कोलाकको गोलबाट रेन्जर्सले अग्रता लिएको थियो । दोस्रो हाफमा इंग्लिस फरवार्ड केनले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई जित दिलाउनुभयो । उहाँले ५० र ५६ औँ मिनेटमा गोल गर्नुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?