प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसिसीको विरोध गर्दै नाराबाजी

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसिसीको विरोध गर्दै दुईजना युवाले नाराबाजी गरेका छन् । सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसिसीको विरोध गर्दै नारा लगाएका हुन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि प्रधानमन्त्री देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुईजना युवाले नाराबाजी गरेका हुन् । देउवाविरुद्ध नाराबाजी गर्नेले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्, एमसिसी खारेज गर् जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवालाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । युवा बाहिर निस्केपछि प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । २०७८ असार ३१ गते प्रधानमन्त्रीको शपथ गरेयता देउवाविरुद्ध सार्वजनिक कार्यक्रममा पहिलोपटक नाराबाजी भएको छ । प्रतिनिधिसभाबाट शुक्रबार पारित भएको नागरिकता विधेयकको विरोध भइरहेको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा पुगेको छ ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । एमसिसी पनि यस अगाडि नै व्याख्यात्मक घोषणासहित संसद्बाट पारित भइसकेको छ ।

स्वाधीनता र राष्ट्रियता जोगाउन भीमसेन थापाको योगदान अतुलनीय : देउवा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वीर सहिदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘नेपाल तटस्थ मुलुकको रूपमा रहन सफल भयो । थापाले डटेर सामना गर्नुभएको थियो । नेपाल राष्ट्रको स्वाधीनतामा अमूल्य योगदान पु¥याउनुभयो । यसको स्मरणमा प्रतिष्ठानले गरेको कार्य उदाहरणीय छ । राष्ट्रको गौरव अक्षुण्ण राख्न योगदान दिनुहुने राष्ट्रिय विभूति भीमसेन थापाबारे थप शोध, अध्ययन तथा अनुसन्धान हुने विश्वास लिएको छु ।’ प्रधानमन्त्री देउवाले थापाको स्मृतिमा प्रतिष्ठानले गर्दै आएको कार्यक्रम आगामी दिनमा निरन्तर अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्राडा. पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रूपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरूपमा पुनर्निर्माणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो । कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?