ढुकुटीको साँचो सधैँ बेइमानहरूको हातमा

प्रा. देवीभक्त ढकाल
Read Time = 18 mins

राज्यको ढुकुटीको जिम्मेवारी पाउने व्यक्ति इमानदार हुनुपर्छ । ढुकुटीको जिम्मा लिने राजनीतिक र प्रशासनिक व्यक्तिहरू नै बेइमान भए भने देश टाट पल्टन्छ । हिजोको हाम्रो शिक्षाले र समाजले पनि ज्ञानी बन्ने र इमानदार बन्ने शिक्षा दिन्थ्यो । त्यसैले नागरिक ज्ञानी र इमानदार हुन्थे । अहिलेको शिक्षाले र समाजले फगत धनी बन्ने शिक्षा दिन्छ । वर्तमानमा धनी बन्ने र इमानदार बन्ने विषय परस्पर विरोधी हुन् । आजको शिक्षाले इमानदारी बन्ने ज्ञान दिन सकेन ।

व्यक्ति अहिले कसरी धनी हुने भन्ने दौडमा छ । हिजो ज्ञान शिक्षा थियो । समाज नैतिक र इमानदार थियो । अहिलेको धन शिक्षाले अनैतिकताको जगमा धनी हुनेहरूको बोलाबाला छ । राजनीतिमा र प्रशासनमा समेत यो प्रवृत्ति हुँदा राज्यको ढुकुटीमा बेइमानहरूको रजगज छ । हिजो नैतिकताको जगमा धनार्जन गर्ने संस्कार थियो । धनीहरूमा पनि नैतिकता थियो । आजकाल धन कमाउने विधि नै बेइमानी र अनैतिक छ । अहिले धनी हुनु भनेको बेइमान हुनु हो । धन कमाउने बाटो नैतिक थियो वा अनैतिक थियो ? इमानदार थियो कि बेइमान थियो ? समाजमा अहिले त्यसको विभेद छैन् ।

हत्या, लुटपाट, भ्रष्टाचार जस्ता अपराधको धनलाई पनि समाजले फगत धनको आधारमा मर्यादा र सम्मान दिने हुँदा समाजमा अनैतिक तरिकाले धनार्जनको विषय सामान्य बन्यो । अहिले धन विद्याको जगजगी छ । ज्ञान, विद्या ओझेलमा छ । तसर्थ समाजमा नैतिकता, सदाचार, इमानदारीको नितान्त खडेरी छ । यसको प्रभावलाई सबैले बुझे पनि कारणहरूको उपचारको चरणमा हाम्रो समाज प्रवेश नै गरेको छैन । सुधारको बाटोतिर नै नलागी सुध्रने आशा गर्नु व्यर्थ र निरर्थक भन्नुपर्छ ।

आजकाल समाजको मान्यतामा परिवर्तन भएको छ । त्यसैले अहिले ज्ञान, सदाचार जस्ता विषयभन्दा धन र धनका लागि भ्रष्टाचार तथा अनैतिक कामहरू प्राथमिकतामा छन् । आश्चर्य के छ भने अहिले अनैतिक र बेइमानहरू सम्मानित हुन्छन् । इमानदारहरू अपमानित हुँदा अनौठो हुँदैन । समाजमा अनैतिकहरूको बोलाबाला छ । भ्रष्टहरू सम्मानित र प्रतिष्ठित हुन्छन् । हाम्रो शिक्षाले आफूलाई आफैँले नढाँट्ने नागरिक उत्पादन गर्न सकेन । नागरिकसँग न्यूनतम् एउटामात्रै गुण आफूले आफूलाई नढाँट्ने र बेइमानी नगर्ने स्वभाव र आचरण विकास हुँदा ढुकुटीको अधिकारको दुरुपयोग हुने थिएन ।

अहिले जसले जिम्मेवारी पाउँछ अपवादबाहेक सबैले निश्चित छ दुरुपयोग गर्छन् । जिम्मेवारीमा रहँदा यदि दुरुपयोग गरेन भने सामाजिक वातावरणले पनि दुरुपयोग गर्न प्रोत्साहित मात्रै होइन बाध्य पार्ने विषय अहिले सामान्य जस्तै लाग्छ ।

हिजोको शिक्षा, संस्कार, अध्ययन, सामाजिक परिवेशले बेइमानी प्रवृत्तिलाई निरुत्साहित गर्ने वातावरण थियो । त्यसैले आज जस्तो शक्तिको र ढुकुटीको दुरुपयोगको यस्तो बिगबिगी थिएन । तत्कालीन सामाजिक मूल्य मान्यता र धर्म जस्ता थुप्रै कारणको परिणाम थियो न्यूनतम इमानदारी मानिसलाई इमानदार हुन शिक्षा, समाज, ज्ञान, चेतना, दृष्टिकोण, मूल्य, मान्यता, आवश्यकता, आवश्यकतालाई बुझ्ने दृष्टिकोण आदि अनगिन्ती विषयहरूको प्रभाव पर्छ । हिजो समाजमा मात्रै होइन व्यक्ति व्यक्तिमा राजस्व, ब्रहृमस्व र देवस्वको दुरुपयोग गर्न हुँदैन भन्ने मान्यता थियो । पापको डरलाई समाजले बीजारोपण गरेको मात्रै थिएन त्यसलाई राम्रो मलजल गरेका कारण आजको हदको बेइमानी हिजो हुँदैनथ्यो ।

हिजो जमिनको कर असुली गर्न राज्यसँग तलबी कर्मचारीहरू थिएनन् । गाउँका मुखिया, जिम्मालहरूले मालपोत उठाउँथे । सरकारको कोषमा दाखिला गथे । उठानेले रकम एक पैसा हिनामिना गर्दैनथ्यो । त्यसको मुख्य कारण थियो राजस्वको हिनामिना गर्नु भनेको जघन्य अपराधको रूपमा समाजले, व्यक्तिले अन्तर मनबाट स्वीकार गर्दथ्यो । तसर्थ राजस्वको दुरुपयोग गर्ने जघन्य अपराध जिम्मेवारबाट हुँदैनथ्यो । त्यो इमानदारी अहिले एकादेशको कहानी बन्यो ।

अहिले जसले जिम्मेवारी पाउँछ अपवादबाहेक सबैले निश्चित छ दुरुपयोग गर्छन् । जिम्मेवारीमा रहँदा यदि दुरुपयोग गरेन भने सामाजिक वातावरणले पनि दुरुपयोग गर्न प्रोत्साहितमात्रै होइन बाध्य पार्ने विषय अहिले सामान्य जस्तै लाग्छ । उदाहरणका लागि अर्थ, वाणिज्य जस्ता मन्त्रालयहरूमा जागिर खानेहरूले घुस खाएर काठमाडौंमा घर बनाएनन् भने त्यस्तो कमाइ हुने ठाउँमा हुँदा पनि घुस खाएन भनेर आलोचना र बदनामसम्मको अवस्थाको साक्षी हुनसमेत हामी बाध्य छौँ । मातहतको बजेटलाई के कसरी दुरुपयोग गरेर व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने चिन्तनमा आ-आफ्नो पदीय हैसियतअनुसार सबै लाग्छन् ।

संस्थामा काम गर्नु भनेको त्यहाँबाट नाजायज लाभ कति लिन सकिन्छ भन्ने चिन्तन र चिन्ताले पियनदेखि प्रधानमन्त्रीसम्म सबै ग्रस्त र व्यस्त छन् । अनुसन्धान गरौँ काठमाडौं उपत्यकामा राजनीतिक परिवर्तनपछि बनेका असी प्रतिशत घर भ्रष्टाचारबाट बनेको कुरा खुल्नेछ । अहिले जिम्मेवारी पाउनेले जिम्मेवारीको चरम दुरुपयोग गर्छ । जिम्मेवारी अधिकारको दुरुपयोग गर्ने प्रमाणपत्र मानिन्छ । उसले प्राप्त गरेको जिम्मेवारीको आडमा आफ्नो र आफ्नाको मात्र आर्थिक हित गर्छ । ढुकुटीको जिम्मेवारले नै ढुकुटी चोर्ने काम गरेपछि देशको अवस्था किन दयनीय हुँदैन ? सरकार प्रमुख नै भ्रष्ट भएपछि मातहतका मानिसहरू सबै भ्रष्ट हुन्छन् ।

आफ्नो हित कसरी हुने भन्ने चिन्तनबाहेक देश र जनताको हितमा असल नियतले काम गर्ने मानिसहरू अपवादबाहेक कोही छैनन् । संवैधानिक अंगका पदहरू, समानुपातिक माननीयहरू, न्यायाधीश, राजदूत, प्रहरी प्रमुखलगायत सबै पद कि त असुलीमा कि त नातागोतामा पजनी गरिन्छ । राणाकालीन पजनी संस्कृतिलाई गणतन्त्रले पुनःस्थापना गरेको छ । गणतन्त्रपछि एउटा वर्गलाई यत्रतत्र सर्वत्र भ्रष्टाचार र शक्तिको दुरुपयोगको छुट छ । त्यो वर्ग दण्डित नभइकन देश बन्दैन ।

कार्यक्रमको बजेट व्यक्तिगत, नातागत, गुटगत, पार्टीगत कमाउ धन्दामा परिणत भएपछिको परिणाम हो वर्तमान आर्थिक दूर्दशा । त्यसैले गरिबी निवारण कार्यक्रम, कृषिलाई दिने अनुदानसमेत जनताको गरिबी निवारण गर्ने कार्यक्रम नभएर अन्ततः नेताहरूको गरिबी निवारण गर्न अत्यन्तै सफल प्रमाणित देखिए । राज्यसत्ताको सानुुभन्दा सानु जिम्मेवारीमा रहेको व्यक्ति स्वतः धनाढ्य भयो । नेताहरू त सबै नै एक्कासि सुकुम्बासीबाट लखनउका बादसाहभन्दा पनि उच्च जीवनशैली यापन गर्न सक्षम भए । तर, अनौठो र लज्जास्पद विषय के छ भने उनीहरूसँग अनगिन्ती सम्पत्ति हुँदाहुँदै नवधनाढ्यहरू स्वघोषित सर्वहारामा दर्ता हुन्छन् ।

संसारकै महँगो उपभोग्य वस्तु प्रयोग गर्ने, महलमा राजसी ठाँटले बस्ने नेताहरू पनि उनीहरूको लिखित दस्तावेजमा सर्वहारा लेखिन्छ । उसको सम्पन्नतालाई बेवास्ता गरेर उसलाई सर्वहारा नै हो भनेर उसलाई अझै लोकप्रिय बनाउने र थप सम्पत्ति जोडने हतियारको रूपमा निर्वाचनलाई हेरिने भएकाले जे–जसरी हुन्छ चुनाव जित र फेरि सरकार बनाएर सरकारको हालिमुहालीलाई एकलौटी गर्ने सोच, दृष्टिकोण र कार्यशैलीको सिकार हुँदा देश भ्रष्टाचारबाट आक्रान्त छ ।

सबै पार्टीका नेताहरूसँग अहिले नैतिकवान कार्यकर्ता कोही छैनन् । जस्ता नेता उस्तै कार्यकर्ता । अहिले दृश्यमा हुने कार्यकर्ता अपवादबाहेक सबै दलाल, तस्कर र माफियामात्रै भएकाले तिनीहरू भ्रष्टीकरणका हतियार हुन् । नेताहरूका भ्रष्टाचार कर्मलाई भ्रष्ट कार्यकर्ताले आँखा चिम्लेर समर्थन गर्दछन् । अहिले सबै पार्टीका कार्यकर्ता आ-आफ्ना नेताहरूको आपराधिक कामको अन्धसमर्थक बनेका छन् । नैतिकवान कार्यकर्ता अब अपवादबाहेक कुनै पार्टीमा एकजना छैनन् । ठीक बेठीकको पहिचानको क्षमता गुमाएका वा त्यो सबै क्षमतालाई नेताहरूमा सुम्पेका व्यक्तिमात्रै कार्यकर्ता बन्न योग्य ठरिन्छन् । गलत मानिसमात्रै यिनीहरूको अघिपछि छन् ।

अपराध कर्मलाई जनकल्याण भन्ने निकृष्ट चरित्र भएका मात्रै अघिपछि भएपछि नेताहरूका सबै काम, निर्णय आपराधिक हुने विषय स्वाभाविकै हुन्छ । राजनीतिको दोस्रो पुस्तासमेत विकृत निस्कियो । दोस्रो पुस्ता त अब भ्रष्टाचारको एकाधिकार आफ्नै हातमा आउँछ भनेर पालो कुरेर यी भ्रष्ट नेताहरूलाई भ्रष्टाचार गर्न सहयोग गर्ने भोलि नेतृत्वमा आउँदा परिस्थिति अझ कति भयावह होला ? यो अनुमान अहिले गर्न कठिन मात्रै छनै त्यो परिस्थितिको कल्पनासम्म गर्दा शरीर जिरिंग हुन्छ ।

भ्रष्टहरूले वर्तमान परिस्थितिलाई मात्रै तहसनहस बनाएका छैनन् भविष्यमा समेत भ्रष्टाचारको यस्तो बिउ रोपेका छन् कि जसलाई आउने पुस्ताले मास्न, उखेल्न सक्दैसक्दैन । भ्रष्टाचारको संस्कृति अहिले नेपालमा वनमारा झारजस्तै फैलिएको छ । त्यसैले यसको प्रवद्र्धनबाहेक नियन्त्रणको कुनै सम्भावना छैन । राज्य सञ्चालनका सबै निकायमा विदेशीहरूले सवारीसाधनका लागि बनाएका आधुनिक सडकभन्दा सुगम राजमार्ग भ्रष्टाचारका लागि निर्माण गरेका कारण हाम्रो पुस्तामात्रै होइन अब आगामी पुस्तासमेत यो भ्रष्टाचारको चक्रब्युहबाट उम्कने अवस्था देखिँदैन । हाम्रा परिवर्तनहरूले अहिलेसम्म मलजल गरेको विषय नै भ्रष्टाचार हो फगत भ्रष्टाचार भने अब सदाचारको खेती कसरी र किन भित्रन्छ ?

भ्रष्टहरूले वर्तमान परिस्थितिलाई मात्रै तहसनहस बनाएका छैनन् भविष्यमा समेत भ्रष्टाचारको यस्तो बिउ रोपेका छन् कि जसलाई आउने पुस्ताले मास्न, उखेल्न सक्दैसक्दैन । भ्रष्टाचारको संस्कृति अहिले नेपालमा वनमारा झारजस्तै फैलिएको छ ।

राज्यको जिम्मेवारीको कुर्सीमा एउटा पनि मानिस जनताको उत्थानका लागि बसेकै छैन । राज्य सम्पन्न हुँदा म समेत सम्पन्न हुन्छु भन्ने विश्वास नै कुनै नेतासँग छैन । त्यसैले राज्यको सहयोगमा उसले आफू र आफ्नालाई कसरी सम्पन्न बनाउन सक्छु भन्ने चिन्तन गर्छ । देश बनाउने नक्कली भाषण गर्नेहरूको वास्तविक चिन्तन आफ्नो घर र परिवारलाई कसरी बनाउनेमा केन्द्रीकृत छ । तसर्थ राज्यका जिम्मेवार प्रायः सबै गैरजिम्मेवार हँुदाको परिणाम हो गरिबी, बेरोजगारी, अभाव, महँगी आदि आदि ।

राज्यको हितमा अहोरात्र परिश्रम र चिन्तन गर्नुपर्ने मानिस आफ्नाको र आफ्नोमात्र चिन्तन गर्छ भने आमजनताका लागि राज्य कति बेसहारा होला ? मानिसमा नैतिकता, इमानदारी, जवाफदेही, धर्म र इन्ट्रिग्रिटी भन्ने वस्तु नहँुदा जे–जे विकृति उत्पत्ति हुनेगर्छन् ती विकृतिहरू हाम्रो अर्थतन्त्रमा, प्रशासन यन्त्रमा र राजनीतिमा प्रशस्तै पाइन्छन् । सकारात्मक पक्ष शून्य र नकारात्मक जबर्जस्त रूपमा मौलाएको छ । त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभावको बिगबिगी नै अहिले जनताका र देशका शत्रु हुन् ।

ढुकुटीको दुरुपयोगको समस्याको कारण र समाधान नागरिकहरूमा नैतिकताको ह्रास हो । नैतिकता स्खलनको कारण वर्तमान शिक्षाको पाठ्यक्रम हो । अब धनप्रधान शिक्षको वर्तमान पाठ्यक्रमलाई अविलम्ब ज्ञानप्रधान पाठ्यक्रममा रूपान्तरण नै समाधानको उपाय हो । त्यसो गर्न जिम्मेवार तयार छैनन् । ज्ञान प्रधान पाठ्यक्रम लागू गर्न सम्भव नहुँदा नै अबको निर्वाचनमा जनताले अहिलेसम्म शासनमा हालिमुहाली गर्ने भ्रष्ट नेताहरूलाई विस्थापित गर्न उनीहरूलाई मतदान नगर्ने अभियानबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

अन्यथा देशले विकास समृद्धिका कुरामात्रै गर्ने र विकृतिको पहाड बनाउनेबाहेक जनताको उत्थानमा पुराना भ्रष्टहरूबाट सिन्कोसम्म भाँचिदैन । भ्रष्टहरूलाई विस्थापित गर्ने रणनीतिप्रति आम ऐक्यबद्धताले ढुकुटीको उच्चतम सदुपयोग गर्ने चरित्रको नेतृत्व पुनःस्थापना हुनसक्छ । आगामी निर्वाचनमा जनताले विवेकको प्रयोगबाट भ्रष्टहरूको रजगज अन्त्य गर्नुको विकल्प छैन ।

Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ChandraSingh Bhattarai
ChandraSingh Bhattarai
2022-07-26 4:27 pm

Remarkable and inspiring too. Thanks.

गणेशप्रसाद नेउपानेलाई
गणेशप्रसाद नेउपानेलाई
2022-07-29 9:53 am

हो! धनवान अगाडि र ज्ञानवान तथा कर्मवीर पाखा पर्ने अबस्था छ।केवल अर्थ आर्जन बिद्याको एक मात्र र अन्तिम लक्ष हो र सत्य हो।नैतिकता,निष्ठा र कर्म
अक्षम ब्यक्तित्वहरूले मात्र पुकार गर्ने बिषय हो जस्तो भएको छ ।तसर्थ शिक्षामा परिवर्तन आबस्यक छ । ज्ञान,शीप,क्षमता र चरित्र बिकास हुने शिक्षाको आबस्यकता छ ।

Cholendra pandit
Cholendra pandit
2022-07-30 8:19 pm

बेइमानहरुलाई ढुकुटिको साँचो कसरी खोस्ने ह‍ो ? नेपालमा त्यस्तो बहादुर को होला ? कहिले निस्केला ?

Cholendra pandit
Cholendra pandit
2022-08-27 11:14 am

अब राणा शाशक सँग यिनीहरुको तुलना गर्नु बेकार छ।यिनीहरु राणाहरु भन्दा लाख गुना भ्रष्ट र चरीत्र हिन छन।यिनीहरु अनैतिक,असामाजिक र अराष्टबादि हुन।यिनीहरुलाई कुनै दुर्बाच्यले सम्बोधन गर्नु भन्दा पसु उपनामले चित्त बुझाउनु राम्रो होला।

छुटाउनुभयो कि ?