खोटाङमा ८४ प्रतिशत रोपाइँ सकियो

Read Time = 2 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङमा यसवर्ष ८४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउनको दोश्रो हप्ता सुरु हुंदासम्म जिल्लाको दश स्थानीय तहमध्ये पाँच स्थानीय तहमा रोपाइँ सकिएको छ । पाँच स्थानीय तहमा अझै रोपाइँ भईरहेको छ ।

जिल्लाभर १२ हजार ८९८ हेक्टर जमिनमा धान खेती हुंदै आएको छ । कृषि ज्ञान केन्द्र दिक्तेलका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जेठ अन्तिमबाट सुरु भएको रोपाइँ हालसम्म १० हजार ८४३.३२ हेक्टरमा अर्थात ८४ प्रतिशत सकिएको हो ।

जिल्लाको लेकाली क्षेत्रहरुमा बेलैमा पर्याप्त वर्षा भएका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा रोपाइँ सकिएको छ ।

बेशी क्षेत्रको रावाबेशी गाउँपालिका, बराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रोपाइँ भईरहेको छ । ती स्थानहरुमा आकाशे पानीको भर र सिंचाई कुलो भएकाले अहिले पनि रोपाइँ भईरहेको कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो ।

जिल्लाका कृषकहरुले अटे मार्सी, ताईचुङग, मकवानपुरे, रन्जिता, खुमल–४, खुमल–८, खुमल–१०, भोटाङ्गे लगायतका धानको प्रजातीहरु रोप्ने गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?