देशको वर्तमान अवस्थाप्रति राष्ट्रपतिको चासो

सन्दीप पौड्याल
Read Time = 5 mins

-सन्दीप पौड्याल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको पछिल्लो घटनाक्रमप्रति चासो व्यक्त गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा सञ्चारमाध्यमका प्रकाशक र सम्पादकहरूसँगको भेटका क्रममा उहाँले व्यापार घाटा, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायत कुराहरूमा चासो व्यक्त गर्नुभएको हो । उहाँले आफ्ना भनाइहरूलाई पाँच बुँदे वक्तव्यमार्फत व्यक्त गर्दै प्रकाशक र सम्पादकहरूसँग सुझावसमेत माग्नुभएको थियो ।

कार्यक्रममा उहाँले अर्थतन्त्रलाई बढी जोड दिँदै हाल देखिएका चुनौतीलाई कम गर्न फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनको बाटो अपनाउन सुझाव दिनुभएको छ । त्यस्तै, अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्न पनि उहाँले सुझाव दिनुभएको छ । उहाँले देशको परनिर्भरता रोक्न खेतबारी बाँझो नराख्न र जनतालाई आफैँ जागृत हुन पनि सुझाव दिनुभएको छ । उहाँले कोभिड–१९ का कारण देशको पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै अहिलेको आवश्यकता पर्यटन गतिविधिलाई उकास्नु रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सञ्चारमाध्यमका प्रतिनिधिले नागरिकता विधेयक, प्रदेश संरचना, गठबन्धन, निर्वाचन, राष्ट्रपतिको दुई कार्याकालको अनुभवलगायत विषयमा प्रश्न राखेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले प्रदेश संरचना र नागरिक विधेयकको विषयमा आफूले तत्काल कुनै धारणा राख्न उपयुक्त नहुने भन्दै पहिला संसद्बाट विधेयक पारित भएर आएपछि मात्र यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभयो । यस्तै, उहाँले आफ्नो दुई कार्यकाल सफल भएको पनि दाबी गर्नुभएको छ । आफ्नो कार्यकालमा महिलाको हक, अधिकार, सम्मानका विषयमा निरन्तर आवाज उठाएको र त्यो सफल पनि भएको बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन सरकार पूर्णरूपमा राजनीतिक विषय भएको भन्दै उक्त विषय आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेको पनि प्रष्ट पार्नुभयो । आफूले राष्ट्रपतिको भूमिकामा बसेर देशको अभिभावकको नेतृत्व बहन मात्र गरेको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले यो वर्षको अन्तिमसम्ममा आफ्नो कार्यकाल सकिने भन्दै आफ्नो जीवनका सुरुवाति संघर्षका कुराहरू पनि व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेताहरूले चुनाव खर्चिलो भयो भनेर भाषण गरेको आफूले सुनेको उल्लेख गर्दे टिप्पणी गर्नुभयो चुनावमा बढी खर्च हुन्छ भनेको के हो ? मलाई बुझाइदिनोस् । जनतामा के देखाएर भोट लिने ? आधारभूत कुरामा त जानुपर्छ होला नि । तामझाम गरेर जाने की जनताको मन जित्ने हो ?

राष्ट्रपति भण्डारीले नेपाली उत्पादनलाई प्रोत्साहन र प्रर्बद्धनका लागि आफूले सकारात्मक सोचका साथ काम गरेको समेत स्मरण गराउनु भयो । उहाँले कतिपय मानबिय संवेंदनासँग जोडिएको बिषयमा पनि नकारात्मक टिप्पणी गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले आफ्नो  कार्यकालमा उठेका केही विवादित बिषयलाई पनि प्रष्ट पार्ने कोशिश गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?