चेस ओलम्पियाडमा नेपाली टोली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ४४औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले बिदाइ गर्नुभएको छ । भारतको चेन्नई शहरमा जुलाई २८ बाट अगस्ट ९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालका तर्फबाट पुरुष तथा महिला दुई टोलीको सहभागिता रहनेछ ।

सिंहदरबारस्थित मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित बिदाइ समारोहमा मन्त्री श्रेष्ठले नेपाली चेस टोलीलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनुभयो ।

सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ चेस ओलम्पियाडबाट लगातार सहभागी नेपालको पुरुषतर्फको टिममा वर्तमान नेसनल च्याम्पियन पुरुषोत्तम चौलागाईं, फिडेमास्टरद्वय रूपेश जयसवाल तथा क्षितिज भण्डारी एवं क्यान्डिडेटमास्टरद्वय विवेक थिङ तथा मिलन लामा रहनुभएको छ भने संघका उपाध्यक्ष एवं नेसनल इन्स्ट्रक्टर धनबहादुर बोगटीले टिम क्याप्टेनको भूमिका निर्वाह गर्नुहुनेछ ।

त्यसैगरी २०१४ मा नर्वेमा सम्पन्न ४१औँ चेस ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा नेसनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल रहनुभएको छ ।

महिला टिमको क्याप्टेनको जिम्मेवारी पूर्व नेसनल च्याम्पियन क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले पाउनुभएको छ । नेपाली टोलीको हेड अफ द डेलिगेट (टिम म्यानेजर) का रूपमा संघका महासचिव धरमबहादुर लामा सहभागी हुनुहुनेछ ।

संघका सचिवद्वय अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी तथा फिडे आर्विटर मोनालिशा खम्बु ४४औँ चेस ओलम्पियाडमा आर्विटरका रूपमा सहभागी हुनुहुनेछ । केसी तथा खम्बु दुवैलाई फिडेको आर्विटर कमिसनले म्याच आर्विटर नियुक्त गरेको हो ।

त्यसैगरी जुलाई ३१ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने अन्र्तराष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नुहुने भएको छ । कंग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ ।

कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल तथा कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसमेत गरी जम्मा १९ सदस्यीय टोली बुधबार दिउँसो (आज) चेन्नई प्रस्थान गर्नेछ ।

यसअघि संघले ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । काठमाडौंको ठमेल पार्क होटलमा सोमबार सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । दुईदिने कार्यक्रममा मनोविज्ञान, मोटिभेसन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?